प्रधानमन्त्रीको उपचार अब कसरी-डायलाइसिस कि प्रत्यारोपण ?

तु खबर संवाददाता
२०७६ कार्तिक १८, सोमबार ०८:२४

मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अब कसरी गर्ने भन्नेबारे आइतबार पनि टुंगो लागेन । अघिल्लो साता सुरु गरिएको डायलाइसिसलाई नै निरन्तरता दिने कि नयाँ मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीले चिकित्सकहरूसँग परामर्श जारी राखेका छन् ।

सत्तारूढ नेकपाका स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री ओलीको उपचार पद्धति टुंगो लागिनसकेको बताए । ‘अहिले उहाँले डायलाइसिस नै गरिरहनुभएको छ, डायलाइसिस यहाँ सजिलै हुन्छ, अरू विकल्पबारे टुंगो लागिसकेको छैन,’ उनले भने ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले निकट वृत्तमा डायलाइसिसभन्दा दोस्रो पटक मिर्गौलाप्रत्यारोपण गर्नेतर्फ आफूले सोचिरहेको बताएकाछन् । यद्यपि वृद्ध उमेरमा पुनः प्रत्यारोपण गर्नु चुनौतीपूर्ण हुने भएकाले त्यसको तुलनामा डायलाइसिस सहज विकल्प हुने सुझाव पनि प्रधानमन्त्रीले पाएका छन् ।

‘यो उमेरमा प्रत्यारोपण सफल भएन भने अरू विकल्प बाँकी नरहन पनि सक्छ,’ प्रधानमन्त्रीको स्वास्थ्यलाई नजिकबाट बुझेको स्रोतले उल्लेख गर्‍यो, ‘त्यसैले बरु बालुवाटारमै मेसिनहरू राखेर डायलाइसिस गरिरहनु उचित हुन सक्छ ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले उपचार पद्धतिका विषयमा सबैतिर सरसल्लाह गरिरहेको बताए । ‘नेपालका ३-४ जना डाक्टरले उहाँ (ओली) ले यसअघि उपचार गराएको सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालका डाक्टरसँग पनि परामर्श गरिरहनुभएको छ,’ उनले भने, ‘अहिलेहामी भर परेको सिंगापुरको अस्पताल नै हो ।’
प्रधानमन्त्री सचिवालयका अर्का सदस्यले ओली उपचारका लागि छिट्टै सिंगापुर जाने संकेत गरे । ‘ढिलो–चाँडो सिंगापुर जानु परिहाल्छ । कहिले भन्ने टुंगो लागिसकेको छैन,’ उनले उल्लेख गरे ।

आइतबार मन्त्रिपरिषद् बैठकको बीचबाटै प्रधानमन्त्री ओली एक्स–रे गर्न मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज पुगेका थिए । ‘फोक्सोमा कति पानी छ भनेर प्रधानमन्त्रीज्यूको एक्स–रे गरियो,’ उनको निजी सचिवालयका एक सदस्यले भने ।

प्रधानमन्त्री ओलीले यसअघि दुई पटकसम्म सिंगापुरको उक्त अस्पतालमा उपचार गराइसकेका छन् । पछिल्लो पटक भदौ ५ देखि १८ गतेसम्म उक्त अस्पतालमा प्लाज्माफेरिसस पद्धतिबाट प्रधानमन्त्री ओलीको शरीरको एन्टीबडी नष्ट गरिएको थियो । तर त्यसपश्चात् लगातारको धपेडी र विदेश यात्रापछि प्रधानमन्त्रीको स्वास्थ्य पुनः बिग्रेको थियो । आजको कान्तिपुर दैनिकमा समाचार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*