नेकपाको निर्वाचन परिचालन कमिटी गठन

तु खबर संवाददाता
२०७६ कार्तिक १८, सोमबार ०७:५७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ का इन्चार्ज एवं पार्टी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले भक्तपुरमा नेकपाले जनताको मन जित्न सफल भएकाले फेरि पनि नेकपाको नै जित सुनिश्चित रहेको बताएकी छिन् ।

नेकपा भक्तपुरले कमलविनायकमा आयोजना गरेको निर्वाचन परिचालन कमिटी गठन कार्यक्रममा उनले पार्टीका इमानदार नेता हरिशरण लामिछानेको निधन भए पनि उनको योगदान, त्याग र निष्ठाको राजनीति जीवितै रहेकाले नेकपाको जित सुनिश्चित रहेको बताइन् ।

नेतृ शाक्यले पार्टीले जोसुकै व्यक्तिलाई टिकट दिए पनि व्यक्तिभन्दा पार्टी ठूलो भएकाले उम्मेदवारको विषयमा नअल्झी एकताबद्ध भएर चुनावी अभियानमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई आग्रह गरिन् ।

प्रत्येक मतदातासँग जोडिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भक्तपुरमा यसपटक पनि चुनाव जित्नेमा पार्टी ढुक्क भएको बताइन् ।

कार्यक्रममा सांसद महेश बस्नेतले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा नेकपाको उम्मेदवार विजयी हुनेमा दुईमत नरहेको भन्दै विपक्षीको गलत चलखेललाई निस्तेज पारेर नेकपा अगाडि बढ्ने बताए ।

उनले सरकारले गरेका राम्रा कामबारे प्रचार गर्न नसक्दा विरोधीले जनतामा भ्रम फैलाउन खोजेको आरोप लगाउँदै जनतालाई सरकारले गरेका जनमुखी कामबारे जानकारी दिँदै अगाडि बढ्ने धारणा राखे ।

कार्यक्रममा प्रदेश ३ का पार्टी सह–इन्चार्जलगायतका पदाधिकारी, भक्तपुर जिल्ला कमिटीका इन्चार्ज दिलीप प्रजापति, सहइन्चार्ज सोम मिश्र, भक्तपुरबाट प्रतिनिधित्व गर्ने नेकपाका प्रदेश सभा सदस्य, भक्तपुरमा रहेका नेकपा प्रदेश ३ का सदस्य, नेकपाबाट जिल्लामा निर्वाचित जनप्रतिनिधिको उपस्थितिमा निर्वाचन परिचालन कमिटी गठन गरेकोे छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*