मुख्यमन्त्री पौडेल २५ वर्षदेखि स्मारक समितिको अध्यक्ष

तु खबर संवाददाता
२०७६ कार्तिक १८, सोमबार ०७:४७
file photo

‘मुख्यमन्त्री छोड्न सक्छु, तर सहिद स्मारकको नेतृत्व छोड्न सक्दिनँ’, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले केही महिनाअघि भनेका थिए । नभन्दै त्यस्तै भएको छ । शनिबार सम्पन्न समितिको १३औँ परिषद् बैठक तथा अधिवेशनबाट पौडेल स्मारक समितिको अध्यक्षमा पुनः निर्वाचित भएका छन् । २५ वर्षदेखि उनी नै अध्यक्षमा निरन्तर चयन हुँदै आएका छन् ।

अधिवेशनबाट पौडेलको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति र सल्लाहकार समिति चयन गरेको छ । त्यहाँ पाँचजना त सांसद नै छन् । राष्ट्रिय सभाका सांसद रामनारायण बिडारी, रामचन्द्र राई, प्रतिनिधिसभा सांसद विरोध खतिवडा, प्रदेश सांसद मुनु सिग्देल र जुनेली श्रेष्ठ समितिको सदस्यमा चयन भएका छन् । समितिमा पूर्वसांसद अन्नत पौडेल तथा नेकपा नेता केदार न्यौपानेसमेत छन् ।

पौडेल ०४६ मा तत्कालीन हेटौँडा नगरपालिकाको प्रमुख हुँदा उनकै अग्रसरतामा सहिद स्मारक निर्माण कार्य प्रारम्भ भएको थियो । ०५१ मा पनि पौडेल नै हेटौँडा नगरको प्रमुख निर्वाचित भएका थिए । अहिले हेटौँडाको पहिचान बनेको स्मारक आन्तरिक पर्यटनका लागि आकर्षक गन्तव्य बनेको छ । मुख्यमन्त्रीमा निर्वाचित भएपछि उनले नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज पनि उठेको थियो । तर, स्मारकले नै आफूलाई चिनाएकाले नेतृत्व नछाड्ने अडानका कारण अरू कसैले उम्मेदवारी नदिएको र उनी नै सर्वसम्मत अध्यक्ष चयन भएको एक सदस्यले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*