प्रदेश ३ सरकारले सुरु गर्यो ‘एक विद्यार्थी, एक बिरुवा’ कार्यक्रम

मकवानपुर, ४ असोज । प्रदेश ३ सरकारले प्रदेशका सामुदायिक विद्यालयहरुमा ‘एक विद्यार्थी, एक बिरुवा’ कार्यक्रम सुरु गरेको छ ।
संविधान दिवसको अवसर पारेर हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालयबाट कार्यक्रम सुरुवात गरिएको हो ।
‘एक विद्यार्थी, एक बिरुवा’ कार्यक्रम प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् ।
चन्द्रोदय माविबाट सुरु भएको उक्त कार्यक्रम प्रदेश ३ का सबै सरकारी विद्यालयहरुमा लागु गर्ने वन मन्त्रालयले जनाएको छ ।
चन्द्रोदय माविमा एभोकार्डो, लिची, अम्बा, आँप, कटहर, अमला, तेजपात, नास्पाती, हलुवाबेद, रुद्राक्षलगायतका फलफूल सहितका २ सय वटा बिरुवा रोपिएको छ ।
सरकारले २ लाख रुपैयाँ खर्च गरेर बगैंचासहितको बिरुवा रोपेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अच्युत उपाध्यायले जानकारी दिए ।
सो कार्यक्रमका लागि मन्त्रालयले २६ लाख ४० हजार बजेट छुट्याएको छ ।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद जोशी, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाललगायतले वृक्षारोपण गरेका थिए ।