पत्रकार आचार्यसहित विभिन्न व्यक्तित्व सम्मानित
मकवानपुर १७ चैत्र । प्रहर खबर डटकमका प्रधानसम्पादक भानुभक्त आचार्य केशबलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित भएका छन् । मातृभूमि साहित्य समाज मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा आचार्यसहित बिभिन्न व्यक्तित्वहरु सम्मानित भएका हुन् ।
पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष आचार्यलाई नगद ७ हजार ५ सय रुपैयाँसहित सम्मानपत्र कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार तुलसी थापाले प्रदान गरेका हुन् ।
मातृभूमि राष्ट्रिय पुरस्कार २०७४ नगद २१ हजार १ रुपैयाँ सहित डा. तुलसी भट्टराई (काठमाडौं), शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक पुरस्कार २०७३ (नगद १५ हजार रुपैयाँसहित) शिक्षासेवी देवप्रसाद श्रेष्ठ तथा बद्रीप्रसाद खतिवडा (मकवानपुर), २०७४ को शिक्षासेवी बनमाली सुबेदी तथा सजनी गोर्खालीलाई प्रदान गरिएको छ ।
त्यस्तै, हातेमालो मातृभूमि युवा सिर्जनशील सम्मान २०७४ नगद १० हजार १ रुपैयाँसहित साहित्यकार सानुभाइ बिश्वकर्मा (मकवानपुर), क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान २०७४ नगद १० हजारसहित संस्कृत वेद विद्यालय हेटौंडा–१०, गोरक्षश्वर ( मकवानपुर), राजकुमार स्मृति मातृभूमि सम्मान २०७५ नगद १० हजार १ रुपैयाँसहित उषा तिवारी (चितवन) लाई प्रदान गरियो ।
समाजका अध्यक्ष माधब पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्व देव श्रेष्ठले प्राप्त गरेको १५ हजार रुपैयाँ मामाघर नेपाललाई र बद्री अतिवडाले प्राप्त गरेको नगद १५ हजार रुपैयाँ हेटौंडा–२ चौकीटोलस्थित ओम बृद्धाश्रमलाई प्रदान गर्ने बचनबद्धता व्यक्त गरेका छन् । समाजले बिभिन्न दातासँगको समन्वयमा एक दर्जन भन्दा बढी पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ह्यग्रीव आचार्य, परराष्ट्रबिद् डा. हिरण्यलाल श्रेष्ठ, साहित्यकार तुलसी भट्टराई, साहित्य संगम मकवानपुरका अध्यक्ष निमेश निखिल, आँचल साहित्य परिवारकी अध्यक्ष अप्सरा हुमागाईलगायतले मन्तव्य व्यक्त गर।ेका थिए । भुटनदेबी माविका शिक्षक बिष्णुप्रसाद गौतमद्वारा लिखित नेपालदेखि अमेरिकासम्म नियात्रा कृतिको बिमोचन पनि गरिएको थियो ।
