लगातार युट्युबमा ट्रेण्डिङमा पर्दै गिरिजा अधिकारीको ‘ए सरकार’
हेटौँडा, २९ साउन । मकवानपुरे पत्रकार तथा साहित्यकार गिरिजा अधिकारीको शब्द रहेको ‘ए सरकार’ बोलको गीतको म्यूजिक भिडियो लगातार युट्युब ट्रेण्डिङमा परेको छ । भिमफेदी गाईजले आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेसँगै युट्युबमा भाइरल भएको गीत सार्वजनिक भएको ४८ घण्टा नपुग्दै युट्युब ट्रेण्डिङको ४५ औँ नम्बरमा परेको थियो ।
त्यसपश्चात लगातार ट्रेण्डिङमा रहेको यो भिडियो अहिले यो सामाग्री तयार पार्दाको समयमा ३६ औँ नम्बरमा आईपुगिसकेको छ । यो सामाग्री तयार पार्दाको समयमा यस भिडियोलाई १ लाख ८५ हजारभन्दा बढी पटक हेरिएको छ ।
उच्च शिक्षा हासिल गरेर दक्ष भइसक्दा पनि नेपाली युवाले बेरोजगार भई विदेशीनुपर्ने बाध्यताका विभिन्न पाटाहरुलाई समेटेर शब्द सिर्जना गरिएको गीतको म्यूजिक भिडियोमा बेरोजगारी समस्या, युवाहरु ऋण राखेर विदेशिनु परेको पीडा र नेपालको मायालाई देखाइएको छ । गीतलाई पुष्पन प्रधानको आवाज दिएका छन् । अधिकारीको शब्दमा विकास पाण्डेले संगीत भरेका छन् । रिकेश गुरुङ ‘किज’ को एरेन्ज मिक्सिङ रहेको गीतमा चर्चित डान्स क्रियू ‘भिमफेदी गाईज’ को फिचरिङ रहेको छ । निर्मल लामा (बिजी) को परिकल्पना र निर्देशनमा बनेको म्यूजिक भिडियोलाई पवन सुस्लिङले खिचेका छन् ।
