गएरातिको पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध, यात्रुको बिचल्ली
चितवन २० साउन । गएरातिको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा सडक अबरुद्ध बनेपछि यात्रुहरुलाई सास्ती भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरोका कारण बाटो अवरुद्ध भएपछि हालसम्म पनि सवारी आवत जावतमा समस्या भएको छ ।
पहिरो खसिरहेकाले रातको समयमा सफा गर्न नसकिएको भए पनि बिहानबाट पहिरो पन्छाउने काम सुरु भएको जनाइएको छ । सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ ।
सोही ठाउँमा शनिबर पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो । सडकको जलबिरेमा पनि पहिरो खसेपछि शनिबार सडक अवरुद्ध बनेको थियो । बिगत तीन दिनदेखि परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि यात्रुले दुःख पाएका छन् ।
