यसरी हेर्नुहोस् कक्षा १२ को परीक्षाफल
काठमाडौँ, १७ साउन । कक्षा १२ को परीक्षाको नतिजा बिहीबार बिहान सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हो ।
गत बैशाखमा १२ कक्षाको परिक्षा संचालन भएको थियो । जसमा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए । पहिलो पटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको छ । परिक्षामा सहभागीमध्ये १ हजार १६९ ले ३.६१ देखि ४ जीपीए ल्याएका छन् त्यस्तै ११ हजार २ सय २१ ले ३.२१ देखि ३.६०, २७ हजार ६ सय ४३ ले २.८१ देखि ३.२० ल्याएका छन् । त्यसैगरी, २.४१ देखि २.८० ल्याउनेको संख्या ५८ हजार ३ सय ४५ छ ।
त्यस्तै ९० हजार २ सय ९९ ले २.१ देखि २.४०, ६६ हजार ४ सय ३८ ले १.६१ देखि २ अंक हासिल गरेका छन् । २२ हजार ७ सय ३४ ले १.२१ देखि १.६० ल्याएका छन् भने ०.८१ देखि १.२० ल्याउने ४ हजार ४ सय ८७ जना छन् । साथै ०.०० देखि ०.८० ल्याउने १ सय ९९ जना छन् । त्यस्तै आंशिकतर्फ १ लाख १७ हजार ४ सय १४ परीक्षार्थी सहभागी भएकोमा ४१ हजार ३ सय २५ अर्थात ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
कसरी हेर्ने रिजल्ट ?
सार्वजनिक नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ । नतिजा राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटबाट हेर्न सकिने छ ।
यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
