सिडिओ साहेब सुधार्नुस् , दुषित छ हेटौंडामा बेचिने जारको पानी

तु खबर संवाददाता
२०७५ श्रावण १५, मंगलवार १९:४९

बलराम पुडासैनी / जी. न्यौपाने

मकवानपुर १५ साउन । मकवानपुरको हेटौंडामा पछिल्लो समय पानी किनेर खान उपभोक्ताहरु झस्कन थालेका छन् । कारण जारको पानीमा कहिले किरा भेटिने अनि कहिले कमिला । “महंगो शुल्क तिरेर पानी किन्यो तर पिउन भनेर पानी सार्न खोज्दा किरा भेटिन्छन् । हेटौंडाका उपभोक्ताहरुले गुनासो गर्न थालेको निकै भो ।”

केहि दिन अधिमात्रै “माई चोईस” नामक जारको पानीमा कमिलाको गुँड भेटिएको थियो । त्यसको केहि दिन पछि पुन “आक्वा टाईम” नामक जारको पानीमा किरा नाचेको भिडियो हेटौंडावासीले सामाजिक संजालमा पोष्ट गरेका थिए । त्यसैगरी आज ंमंगलबार “अमृत जल ” नामक जारको पानीमा किरा त नाचिरहेकै थियो किरा मात्र होईनै जारको पिँधमा समेत सेतो लेदो भेटिएपछि हेटौंडाका उपभोक्ताले तु खबरलाई गुनासो गरेका थिए ।

“शुद्ध पिउने पानी” भनेर उपभोक्तालाई चर्को मुल्यमा बिक्री गर्न पल्केका यी कम्पनीका संचालकहरुले दुषित पानी बेच्दै उपभोक्ताको स्वास्थ्यमाथीनै खेलवाड गरीरहेका छन् । त्यसोत मकवानपुरका सञ्चार माध्यमहरुले पनि यस विषयमा समाचार प्रकाशन गर्न थालेको निकै भयो, तर पानीको गुणस्तरमा सुधार आउन भने अझै सकेको छैन । पानी दुषित भएको गुनासो चारैतिरबाट आएपछि मकवानपुरका तत्कालिन प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले पानी कम्पनीहरुको अनुगमन त गरे, तर पानीको गुणस्तरमा भने सुधार आएको महशुस हेटौंडावासीहरुले गर्न पाएका छैनन् ।

पानी उत्पादन गर्ने कम्पनीहरुको चरम लापरवाहीको कारण उपभोक्ताको स्वास्थ्य अवस्थामा समेत असर पर्नसक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । मकवानपुरको सहायता ईन्टरप्राईजेजका किसन भट्टले सोमबार पानीको जार फोरेर पानी पिए तर उनले त्यसबेलासम्म पानीमा किरा भएको ख्याल गरेनन् तर पानी पिईसकेपछि उनले पानीको जारभित्र किरा नाचिरहेको र पिधमा पनि सेतो लेदो भएको पाएपछि तु खबरलाई बताए । उनी त एउटा उदाहरणमात्र हुन् ।

यसअधि हेटौंडाकै अर्का व्यवसायी राजन खरेलले पनि पानी पिउँने क्रममा माई चोईसको पानीमा किरा नाचेको भेटे अनि त्यो पानी किनेर पिउननै छोडे । त्यसैगरी मकवानपुरकी एक संचारकर्मीले आक्वा टाईमको पानीमा किरा नाचेको भिडियो सामाजिक संजालमा सार्वजनिक गरीन् ।

प्रदेशको राजधानीमा समेत यस्तो अवस्था हुनु कत्तिको सहाउँदोहुन्छ ? हेटौंडावासीहरुले मकवानपुरका सिडिओ आस्मान तामाङले यो विषयमा केहि गर्लानकी भनेर आश गर्न थालेका छन् ।

तु खबरले मकवानपुरमा भर्खरै आएका सिडिओ तामाङलाई यस विषयमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले हेटौंडाका पानी उत्पादक कम्पनीहरुको अनुगमन गर्ने बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*