प्रियंकासँग रिसाए सलमान, अब सँगै फिल्म नखेल्ने
एजेन्सी, १४ साउन । हलिउडमा समेत पकड बनाएकी बलिउड नायिका प्रियंका चोपडाले बिहेको बहाना बनाएर सलमान खानसँगको चलचित्र ‘भारत’ बाट हात झिकेपछि सलमान रिसाएका छन् ।
चलचित्रका निर्देशक अलि अब्बास जाफरले प्रियंकाले चाँडै बिहे गर्न लागेकाले फिल्म छोडेको बताएका थिए तर प्रियंकाले फिल्म छोड्नुको वास्तविक कारण कट्रिना कैफ रहेको बुझिएको छ । यो फिल्ममा सुरुमा कट्रिनालाई हिरोइन बनाउने सोचमा निर्देशक जाफर थिए । तर, प्रियंकाले सोझै सलमानसँग सम्पर्क गरेर आफू उनको फिल्ममार्फत बलिउडमा पुनरागमन गर्न इच्छुक रहेको भन्दै हारगुहार गरेको बताइएको छ ।
सलमानले प्रियंकालाई लिड रोल दिएपछि कट्रिनाको मन राख्नका लागि उनलाई दमदार गेष्ट रोल दिइएको र पछि पूनः दिशा पटानीको पनि इन्ट्री भएपछि आफू ओझेल पर्न सक्ने भएका कारण उनले फिल्मबाट हात झिकेकी हुन् ।
त्यसपश्चात प्रियंकाले आफ्नो प्रेमी निक जोनससँग बिहे गर्न लागेको बताउँदै चलचित्रबाट हात झिकेकी थिईन् । तर उनले तुरुन्तै फरहान अख्तरको फिल्म ‘द स्काइ इज पिंक’ साइन गरेपछि सलमान खान उनीसँगै कहिल्यै काम नगर्ने निचोडमा पुगेका छन् ।
