मनहरीको ६ नम्बर वडामा १६ लाख सामाजिक सुरक्षा भत्ता वितरण
मकवानपुर, १३ साउन । मनहरी गाउँपालिका वडा नम्बर ६ ले शनिबार १६ लाख बराबरको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ६ का ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका लगायतलाई नेपाल सरकारले प्रदान गर्दै आएको सेवा अन्र्तगतको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् ।
वडा नम्बर ६ का ३ सय १२ मध्ये २ सय जनालाई शनिबार भत्ता बितरण गरिएको हो । भत्ता लिन बाँकी रहेका सेवाग्राहीहरुले आफुलाई पायक पर्ने समयमा बैंक मार्फत भत्ता बुझ्न सकिने वितरणमा सहभागी सेन्चुरी बैँकका कर्मचारी प्रेम बिष्टले जाजकारी दिए । बैंकको मनहरी शाखाको प्राबिधिक सहयोग रहेको उक्त बितरण कार्यक्रममा फागुनदेखि जेठसम्मको चौमासिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
जेठ महिनादेखिको अर्को चौमासिक भत्ता भने असोजमा बितरण गरिने वडा नम्बर ६ का अध्यक्ष गोपीराम मोक्तानले जानकारी दिएका छन् ।
