मनहरीमा एकै दिनमा दुई सवारी दुर्घटना, मिनी ट्रक र ट्रक जुध्यो, बोलेरो र ट्रक ठोक्कियो
मकवानपुर, १३ साउन । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका दुई छुट्टा–छुट्टै स्थानमा एकै दिन दुई वटा सवारी दुर्घटना भएको छ । मनहरीको ज्यामिरे र जयसिङ भन्ने स्थानमा ती सवारीहरु दुर्घटनामा परेको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् ।
हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख १३५४ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ६१७४ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा मनहरि ९ ज्यामीरेमा दुर्घटना भएको हो । दुर्घटनामा परी मिनी ट्रकमा सवार रौतहटको गुनही नगरपालिका ३ का ५५ वर्षीय सिकीन्दर यादब सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । उनी सामान्य उपचार पछि घर फर्र्किएका छन् ।
त्यसै गरी शनिबार नै मनमहरी ९ जयसिङमा पनि सवारी दुर्घटना भएको छ । हेटौँडाबाट नारायणगढतर्फ गइरहेको ना ४ ख ४३६९ नम्बरको ट्रकलाई नारायणगढबाट आउँदै गरेको ना ३ च ६७७ नम्बरको बोलेरोले ठक्कर दिएको हो । दुर्घटना भएको सवारी इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहको छ । दुबै घटनामा यात्रुहरु सामान्य घाइते मात्र भएको प्रहरीले जनाएको छ ।
