हेटौँडाको पशुपति नगरमा रात्रि गस्ती गर्ने आमा समुहलाई सम्मान
मकवानपुर, १३ साउन । लागूऔषध दुव्र्यसनी र महिला हिंसा न्यूनिकरणमा सक्रिय मकवानपुरको हेटौडा उपमहानगगरपालिका वडा नम्बर ९ मा रहेको पुष्पाञ्जली आमा समुह गस्ती अभियान टोलीलाई सम्मान गरिएको छ ।
सिआन पुर्नस्थापना केन्द्र र हेटौँडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयको आयोजना तथा लियो क्लव अफ हेटौडा भुटनदेविको सहयोगमा टोलीलाई खादा सहित मायाको चिनो प्रदान गरी सम्मान गरिएको क्लबका तृतिय उपाध्यक्ष रुपक कालिराजले बताए । वडा नम्बर ९ का अध्यक्ष लक्ष्यमण प्रसाद भण्डारीको अध्यक्षतामा भएको सम्मान तथा लागुऔषध अनुशिक्षण कार्यक्रममा सिआन पुर्नस्थापना केन्द्रका प्रमुख सौजन डिसिले लागुऔषधमा कसरी युवा फस्छन् र उपचार गर्ने विधिबारे सहजीकरण गरेका थिए । त्यस्तै क्लबका अध्यक्ष अनिल अधिकारीले नेतृत्व गर्ने विषयमा रहेर सहजीकरण गरेका थिए ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै आमा समुहका अध्यक्ष कल्पना थापा मगरले सम्मानले अझ उर्जा मिलेको र समाजसेवामा लाग्नको लागि आमा दिदीबहिनीहरुलाई हौसल्ला मिलेको बताईन् । रात्रि गस्ति अभियानका बारेमा मिडियाले समाचार बनाएर सबै सामु चिनाउनको लागि खेलेको भूमिकाप्रति आफु कृतघ्न रहेको समेत बताईन् ।
टोलमा विकृति विसंगति बढ्दै गइरहेको कारण आमा समु्हले गरेका यस अभियानले जाँडरक्सी खाएर श्रीमान् श्रीमतीबीच हुने झँै–झगडा, गाउँमा चोरी हुनेजस्ता घटना घट्दै गएको स्थानीय बासिन्दाले बताएका छन् । लागूऔषध दुव्र्यसनी र महिला हिंसाको अखडा बन्दै गएको हेटौंडा उपमहानगरपालिकाको पशुपतिनगरमा महिला गस्तीका कारण विकृति निक्कै घटेको वडा अध्यक्ष भण्डारीले बताए ।
