असार १ गतेदेखि हेटौँडामा निःशुल्क गहुँको छ्वाली हस्तकला तालिम हुँदै
मकवानपुर, ३० जेठ । जिल्ला युवा समितिको कार्यालय मकवानपुरको आयोजनमा मकवानपुरको हेटौँडामा आउँदो असार १ गतेदेखि ‘१ महिने निःशुल्क गहुँको छ्वाली हस्तकला तालिम’ सञ्चालन हुने भएको छ ।
राष्ट्रिय युवा परिषदको लोपोन्मुख परम्परागत सिप युवा पुस्तामा हस्तान्तरण कार्यक्रम अन्तर्गत हुन लागेको तालिममा सहभागी हुन यही जेठ मसान्त (जेठ ३१ गते बिहीबार) सम्म निवेदन दिने मिति तय गरिएको छ । सहभागी हुन जो कोही ईच्छुक युवाहरुले तोकिएको ढाँचामा बिहीबारसम्म निवेदन दिन सकिने जिल्ला युवा समिति मकवानपुरले जनाएको छ ।
हेटौँडा ४ पारिजातपथमा रहेको मनकामना एकेडेमीमा दिनको २ बजेदेखि ३ बजेसम्म तालिम संचालन हुने बताइएको छ ।
