मकवानपुरका लागि २ अर्ब ८५ करोड बजेट बिनियोजन, इन्द्रसरोवर गाउँपालिकालाई सबैभन्दा कम बजेट , कुन स्थानीय तहलाई कति ? (पूर्ण विवरण)

तु खबर संवाददाता
२०७५ जेष्ठ १७, बिहीबार ०७:५३

हेटौँडा, १७ जेठ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७५–०७६ मा मकवानपुरका लागि २ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । हेटौँडाबाट प्रकाशित आजको ‘हेटौँडा सन्देश दैनिक’ मा यो समाचार प्रकाशन गरिएको छ ।

सरकारले मंगलबार बजेट भाषणमार्फत् मकवानपुरका १० वटै स्थानीय तहका लागि २ अर्ब ८५ करोड ९७ लाख बजेट छुट्याएको उल्लेख गरेको हो । मकवानपुरका स्थानीय तहमध्ये सबभन्दा धेरै हेटौंडा उपमहानगरपालिका र कम इन्द्रसरोवर गाउँपालिकाका लागि बजेट छुट्याइएको छ । सरकारले हेटौंडामा ८४ करोड ७७ लाख, थाहामा २९ करोड २३ लाख, इन्द्रसरोवरमा १२ करोड ८७ लाख, कैलाशमा १८ करोड ६७ लाख, बकैयामा २९ करोड ४६ लाख, बागमतीमा २२ करोड २७ लाख, भीमफेदीमा २२ करोड ५७ लाख, मकवानपुरगढीमा २१ करोड ६३ लाख, मनहरीमा २४ करोड ३९ लाख र राक्सिराङ २० करोड ११ लाख बजेट बिनियोजन गरेको छ ।

सरकारले मकवानपुरसँगै ७७ जिल्लाका ७ सय ५३ वटै स्थानीय तहका लागि बजेट छुट्याएको छ । मंगलबार अर्थमन्त्री युवराज खतिवडाले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै प्रदेश र स्थानीय तहका लागि ४ खर्ब ४२ अर्ब बजेट बिनियोजन गरेका छन् । त्यसमध्ये केन्द्रले आफ्नो बजेटबाट ३ खर्ब २८ अर्ब दिनेछ भने भ्याट र अन्तःशुल्कबाट उठ्ने राजस्वमध्येबाट १ खर्ब १४ अर्ब बाँडफाँट हुने अनुमान गरिएको छ ।

अर्थमन्त्री खतिवडाले १३ खर्ब १५ अर्ब १६ करोडको बजेट सार्वजनिक गर्दै सात प्रदेशका लागि केन्द्रको अनुदानबाहेक १ खर्ब १४ अर्ब राजस्वमा प्रदेश र स्थानीय तहबीच अलग्गै बाँडफाँट गरेका छन् । सरकारले प्रदेश–१ मा १९ अर्ब ८८ करोड (सबभन्दा धेरै), प्रदेश–२ मा १६ अर्ब १९ करोड, प्रदेश–३ मा १६ अर्ब ५८ करोड, प्रदेश–४ मा १३ अर्ब २८ करोड (सबभन्दा कम), प्रदेश–५ मा १६ अर्ब ५४ करोड, कर्णाली प्रदेशमा १६ अर्ब ६९ करोड र प्रदेश–७ मा १४ अर्ब २५ करोड छुट्याइएको उल्लेख छ ।

बजेटबारे नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य राज– कुमार न्यौपानेले यस वर्षको बजेटले साना व्यवसायीलाई राहत मिल्ने बताए । उनले ठूला व्यवसायीलाई भन्दा साना व्यवसायीको सवालमा निकै सहयोग पु¥याउने बजेट ल्याउने सरकारप्रति आभार व्यक्त गरे । उनले विकासे बजेट भएकाले बजेटमा उल्लेख भएअनुसार कार्यान्वयन भए समृद्धिको बाटोमा अघि बढ्न समस्या नहुने बताए ।

मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवालले रोजगार, पर्यटन र उद्योग क्षेत्रलाई टेवा पुग्न सहयोग पु¥याउने बताए । उनले बजेटले समग्र क्षेत्रलाई समेट्न सफल भएको धारणा राखे । उनले सुरुङमार्गलाई सरकारले प्राथमिकतामा नपारेको आरोप लगाए । ‘प्रादेशिक सरकारले सुरुङमार्गलाई प्राथमिकता दिएको छ’ उनले भने–तर, संघीय सरकारले बजेटमा समावेश गरेन । हेर्नुहोस् बजेट–

अन्तर सरकारी वित्तीय हस्तान्तरण (प्रदेश र स्थानीय तह) आर्थिक वर्ष २०७५-७६

व्यय अनुमानको विवरण खर्च शीर्षकगत र स्रोतगत समेत आर्थिक वर्ष २०७५-७६

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*