मुख्यमन्त्री पौडेलले हेटौँडामा भने–‘विदेशी सामान बढी प्रयोग भो’

तु खबर संवाददाता
२०७५ बैशाख १७, सोमबार १७:२५

हेटौँडा, १७ बैशाख । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विदेशी सामाग्रीको बढी प्रयोग गरि स्वदेशी सामाग्रीलाई हेला गरिएको बताएका छन् । सोमबार जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरले आयोजना गरेको सहकारी व्यवस्थापन कार्यशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री पौडेलले उत्पादनलाई भन्दा स्वदेश उत्पादनलाई बढि प्राथमिकता दिनुपर्ने बताए ।

उनले स्वदेशमै उत्पादन भएको वस्तुलाई प्राथमिकता नदिई विदेशमा उत्पादन भएका वस्तुलाई बढी उपयोग भइरहेको बताउँदै भने ‘ हामी उत्पादन गरेका वस्तुलाई उपयोग गर्दैनौ, हामीले बढी भन्दा बढी स्वदेशी वस्तुलाई प्राथमिकता दिनुपर्छ ।’ उनले भारतमा उत्पादन गरेको मालाले कार्यक्रममा स्थान पाइरहेकोले त्यसलाई समेत बन्द गरिएको बताए । ३ नम्वर प्रदेशले स्वदेशमै उत्पादन भएका वस्तुलाई प्राथमिकता दिने उद्देश्यले नीति नियम बन्दै गरेको समेत उनले सुनाए ।

उनले सहकारीलाई उत्पादनको कार्यमा लगाउनुपर्नेमा जोड दिए । सहकारीले नीजि उद्योगलाई समावेश गरी रोजगारीको सिर्जना गर्नुपर्ने समेत औँल्याए । आर्थिक क्रियाकलापमा महिला पुरुषबाट हेपिएकोमा अहिले सहकारीले नै महिला हिंसा अन्त्य गरेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले सहकारीलाई समन्वय र सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । यसैगरी हेटौंडा उपमहानगरपालिका उपप्रमुख मिना लामाले सहकारीले उत्पादनसँगै व्यवसायलाई पनि जोड दिनुपर्ने बताइन् । कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लम्सालले संरचनाअनुरुप सहकारीमा थप चुनौती थपिएको बताए ।

जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष राधा सिन्तानको अध्यक्षतामा भएको दुईदिने गोष्ठी कार्यक्रममा सर्लाही, सिन्धुली र मकवानपुर जिल्लाका १३० जना व्यवस्थापक तथा वरिष्ठ कर्मचारीहरुको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*