मुख्यमन्त्री पौडेल, प्रदेशसभा सदस्य घलान र प्रतिनिधिसभा सदस्य खतिवडाद्वारा ५ विद्यार्थीहरुको अभिभावकत्व ग्रहण

तु खबर संवाददाता
२०७५ बैशाख ५, बुधबार १८:१५

हेटौँडा, ५ बैशाख । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य ओम घलान र प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले ५ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । मुख्यमन्त्री पौडेलले मकवानपुरको मनहरी गाउँपालिकाका दुई बालबालिकाको सम्पूर्ण शिक्षाको जिम्मेवारी लिँदै बुधबार अभिभावकत्व ग्रहण गरेका हुन् ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सुनाचुरीमा विद्यार्थी भर्ना अभियान शुभारम्भ गर्दै मूख्यमन्त्री पौडेलले निम्न आर्थिकस्तरका परिवारका स्थानीय जेसिका प्रजा र सन्जित ब्लोनको अभिभावकत्व ग्रहण गर्दै विद्यालय जान नसकेका बालबालिकालाई हरेक सचेत नागरिकले जिम्मा लिएर विद्यालय भर्ना गराउनुपर्नेमा जोड दिए । उनले आफुले अभिभावकत्व ग्रहण गरेका बालबालिकाको सबै खाले शैक्षिक गतिविधिमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

भर्ना अभियान अन्तरगत सोही विद्यालयमा प्रदेशसभा सदस्य ओम घलानले स्थानीय सुनिल चेपाङ र मनहरी–४ को महेन्द्र किरण माविमा प्रतिनिधि सभा सदस्य विरोध खतिवडाले सविन थिङ र विश्वास थोक्राको अभिभावकत्व ग्रहण गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*