पदमपोखरीमा महायज्ञ सकियो, क्याम्पस विकासका लागि ३६ लाख संकलन

तु खबर संवाददाता
२०७४ चैत्र २९, बिहीबार १८:५६

–चन्द्र घलान
मकवानपुर, २९ चैत ।
मकवानपुरको हेटौँडा–१३ स्थित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक तथा समग्र भौतिक स्तर सुधारका निम्ति चैत २१ गतेबाट भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आज समापन भएको छ । सप्ताह मुल आयोजक समितिका अध्यक्ष राजेन्द्र मैनालीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा आज औपचारिक कार्यक्रम गरि महायज्ञको समापन गरिएको हो ।

सप्ताहमा ३६ लाख ६१ हजार ९ सय ५१ रुपैयाँभन्दा बढी सहयोग जुटेको क्याम्पस प्रमुख कृष्णमाया लटौलाले जानकारी दिईन् । सप्ताहमा महेन्द्र मावि पदमपोखरीका शिक्षकहरुले एकमुष्ठ रुपमा १ लाख ८१ हजार ४ सय ८४ रुपैयाँ सहयोग गरेका थिए । सप्ताहमा संकलन भएका सम्पूर्ण रकमलाई खर्च कटाएर क्याम्पसको शैक्षिक तथा भौतिक स्तर सुधारका निम्ती प्रयोग गरिने छ । समापन कार्यक्रममा नगद सहयोग तथा विभिन्न स्थानबाट सहयोग पुराएको भन्दै विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ ।

क्याम्पसको शैक्षिक अवस्था सुधारको निम्ती सप्ताहमा ५ लाख १० हजार सहयोग गर्ने कृष्णप्रसाद मैनाली र ५ लाख ५ हजार सहयोग गर्ने राजेन्द्र मैनालीलाई विशेष सम्मान समेत गरिएको थियो । त्यस्तै वडा नम्बर १२ परिवार, वडा नम्बर १३ परिवार, प्रदेश नम्बर ३ का सांसद ईन्द्रबहादुर बानियाँ, टासी छ्वेईलिङ बौद्ध गुम्बा परिवार, आधुनिक महिला जागृति, नमोबुद्ध टोल सुधार समूह ठुलोथली, महेन्द्र मावि परिवार, बुद्ध मावि परिवार, दिनेश गोले, बिदुर तामाङ घलान लगायतका नगद सहयोग गर्ने तथा समाचार संकलन र प्रचारप्रसारका गरि सहयोग पुराएको भन्दै तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष चन्द्र घलान र सचिव दिलबहादुर लामालाई समेत सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै मेयर महतले ग्रामिण क्षेत्रको विकासको लागि विभिन्न योजनाहरुसहित अगाडि बढेको बताएका थिए । समापन कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलान, वडा नम्बर १३ का वडाअध्यक्ष मनोज वाईबा, धर्मगुरु, पण्डित गुरु तथा विभिन्न व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

सप्ताह ज्ञान महायज्ञमा पण्डित गुरु तथा बौद्ध गुरुबाट भागवत पुजा अर्चना तथा पाठपरायण भएको थियो । सप्ताहमा प्रमुख भागवत वाचक पण्डित सुशिल पौडेल सहित भागवत उपवाचक पण्डित रमेश चालिसेको टोलीले भागवत कथा वाचन गरेका थिए भने प्रमुख बौद्ध धर्म गुरु खेन रेन्पुन्छे तथा आचार्य सर्वजीत तामाङ, बौद्ध गुरु ज्ञान बज्र लामा लगायतले बौद्ध ज्ञान वाचन गरेका थिए ।

वि.सं. २०७१ सालमा सम्बन्धनप्राप्त क्याम्पसमा स्थानीय विद्यार्थीलाई प्रोत्सहान दिँदै वडा नम्बर १२ र १३ का स्थानीय विद्यार्थीहरुका लागि वडा कार्यालयको समन्वयमा निःशुल्क शिक्षाको व्यवस्था समेत मिलाईदै आएको छ । हाल व्यवस्थापन संकाय मात्र पढाई हुने क्याम्पसमा विद्यार्थीलाई अझ पढ्ने वातावरण मिलाउनकालागि र विद्यार्थीको अभाव हुन नदिनका लागि क्याम्पस प्रमुख लटौला सहित क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शंकर रोक्कासहितको टोली वडाका बुद्धिजीवीहरुसँगको छलफलमा प्राप्त सुझावका आधारमा विभिन्न योजनासहित अगाडि बढेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*