हेटौँडा–१५ को शैक्षिक अवस्था सुधार बारे छलफल, विषयगत शिक्षकको अभाव
मकवानपुर, २८ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ मा वडाको समग्र शैक्षिक अवस्था सुधार बारे छलफल भएको छ । आज वडा नम्बर १५ का वडाअध्यक्ष महारत्न लामाको अध्यक्षतमा बसेको बैठकमा वडा सदस्यहरु, वडा नम्बर १५ का ८ वटा विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु तथा मयुरधाप श्रोतकेन्द्रका श्रोत व्यक्ति नारायण भण्डारी लगयतको सहभागितामा शिक्षाका अवस्था सुधार बारे छलफल भएको हो ।
छलफलका क्रममा वडा नम्बर १५ का विभिन्न विद्यालयहरुमा विषयगत शिक्षकको कमि भएको गुनासो आएको थियो । ३ वर्षदेखि ५ वर्षका बालबालिकालाई बालकेन्द्रमा अध्यापन गराई विद्यालयमा भर्ना गराउने प्रक्रिया भएपनि अधिकांश अभिभावकहरुले १ वर्ष बालकेन्द्रमा राखेपछि त्यहाँबाट निकालेर बोर्डिङ स्कूलहरुमा भर्ना गर्ने क्रम बढेको बताइएको छ । विद्यार्थीलाई बालकेन्द्रसँगैको विद्यालयमा भर्ना गराउनकालागि अभियान सञ्चालन गर्नुपर्ने निश्कर्ष पनि छलफलबाट निकालिएको छ ।
विद्यालयका तल्ला तहहरुमा समेत ग्रेड टिचरको व्यवस्था गर्ने छलफलले निर्णय गरेको छ । विद्यालयमा कक्षाकोठामा शिक्षक तथा विद्यार्थीहरुले मोबाईल प्रयोग गर्न बन्द गर्ने समेत छलफलले निर्णय गरेको छ । वडामा रहेको विश्वज्योति आधारभूत विद्यालय र ज्ञानज्योति आधारभूत विद्यालयमा शिक्षक दरबन्दी कमी भएको समेत वडा अध्यक्ष लामाले जानकारी दिएका छन् । २ मावि र ६ वटा आधारभूत विद्यालय रहेको वडा नम्बर १५ मा सबै विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिबिच समन्वय गरेर सबैले आफ्नो जिम्मेवारी पुरा गरेमा शैक्षिक अवस्था धेरै सुधार्न सकिने वडा अध्यक्ष लामाले बताए । वर्तमान समयमा समन्वयको अभाव देखिएको बताउँदै त्यसका लागि पहल समेत सुरु गरिने उनले बताए ।
