मनहरी बजारमा १६ वटा सीसी क्यामेरा जडान एआइजी घिमिरे भन्छन्–‘लागूऔषधमुक्त मनहरी बनाऔँ’

तु खबर संवाददाता
२०७४ चैत्र २४, शनिबार २०:४५

शिवकुमार काशी / मनहरी–पश्चिम मकवानपुरको मनहरी बजारमा १६ वटा सीसी क्यामेरा जडान भएको छ । जडित क्यामेराको ३ नं प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक केशरीराज घिमिरेले उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले भने–‘सुन्दर र सुरक्षित मनहरी मात्र होइन, लागूऔषधमुक्त मनहरी हुनु पनि जरुरी छ ।’ उनले बिगतमा गाँजा खेती तथा ओसारपसारको ट्रान्जित प्वाइन्टको रुपमा रहेको मनहरीलाई लागूऔषधममुक्त बनाउनका लागि जनताले नै सक्रियता देखाउनुपर्ने बताए । ‘जसरी सीसी क्यामेरा जडानका लागि स्थानीय तहका आर्थिक सहयोग जुट्यो, त्यसरी नै लागूऔषध निमिट्यान्न पार्नका लागि जनस्तरबाटै सहयोग अपरिहार्य छ’, उनले भने ।

सीसी क्यामेराको माध्यमबाट अपराधलाई न्यूनिकरण गर्नका लागि सजिलो पर्ने भएकाले अबका दिनमा प्रवृधिमैत्री प्रहरीको आवश्यकता रहेकोमा उनले जोड दिए । अबका प्रहरी हस्तलिखित अभिलेख राखेर गाडी नम्बर टिपेर बस्ने नभई सीसी क्यामेराको माध्यमबाट सवारी तथा अन्य आपराधिक गतिविधिको निगरानी गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा संघीय प्रहरी इकाईका बरिष्ठ प्रहरी उपरिक्षक सूर्यप्रसाद उपाध्याय, मकवानपुरका प्रहरी प्रमुख विकास राज खनाल, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम सीसी टिभी जडान तथा व्यवस्थापन समितिका अध्यक्ष गोविन्द रिजालको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा आर्थिक बिवरण पेस गर्दै समितिका कोषाध्यक्ष हेमलाल उप्रेतीले कूल १२ लाख ८९ हजार ४०६ रुपियाँ संकलन भएकामा ११ लाख ४९ हजार ४०६ रुपियाँ खर्च भएको जानकारी दिएका थिए । मनहरी गाउँपालिकाले ५ लाख रुपियाँ सीसी टिभी जडानका लागि बिनियोजित रकम अन्तर्गत सहयोग गरेको छ भने राक्सिराङ गाउँपालिका तथा विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले आर्थिक सहयोग गरेका छन् । आर्थिक सहयोग गर्नेहरुलाई सीसी टिभी उद्घाटन कार्यक्रममा सम्मान गरिएको थियो । सीसी टिभी जडान भएपछि बजारमा नौला मानिसहरुको गतिविधि निगरानी गर्न सजिलो परेको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक चित्र घलेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*