पदमपोखरी बहुमुखी क्याम्पसमा महायज्ञ जारी, शनिबार भक्तजनको भिड बढ्ने

तु खबर संवाददाता
२०७४ चैत्र २४, शनिबार ०८:५१

–चन्द्र घलान
मकवानपुर, २४ चैत ।
मकवानपुरको हेटौँडा–१३  स्थित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक तथा समग्र भौतिक स्तर सुधारका निम्ति चैत २१ गतेबाट शुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आज चौथो दिन पनि जारी छ ।

विद्यालयको हाताभित्र जारी महायज्ञमा बिहान बेलुका श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति रहेपनि दिउँसोको समयमा भने केही कम भक्तजनहरुको उपस्थिति हुने गरेको महायज्ञ मुल समारोह समितिले जनाएको छ । साथै दिउँसोको समयमा समेत भक्तजनहरुको उपस्थिति बाक्लो बनाउनलागि मुल आयोजक समिति सहित पदमपोखरीका बुद्धिजीवीहरु छलफलमा जुटेका छन् । महायज्ञमा केही दाताले सहयोग समेत गरेका छन् । अहिलेसम्म सप्ताहमा १ लाख २० हजारभन्दा बढी नगद सहयोग संकलन भएको छ ।

क्याम्पसको स्तर उन्नत्तिको लागि सप्ताह लगाइएकोले सहयोगी दाताहरुलाई यथासक्दो सहयोग गरिदिन समेत क्याम्पस प्रमुख कृष्णमाया लटौलाले आग्रह गरेका छन् । साथै वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलान र वडा नम्बर १३ का वडाअध्यक्ष मनोज वाईबाले समेत सहयोगका लागि सबैसँग अपिल गरेका छन् ।

त्यस्तै आज शनिबार महायज्ञमा भक्तजनको भिड लाग्ने अनुमान गरिएको छ । बिहानीको समयबाटै चहलपहल बढेको र बिदाको दिन भएकोले श्रद्धालु भक्तजनहरुको सहभागीता बढ्ने अनुमान गरिएको हो ।

 

यसैबिच पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत सहितको टोलीले हिजो महायज्ञमा सहभागीता जनाएका छन् । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका १२ र १३ को संयुक्त आयोजनामा नववर्ष २०७५ को शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पदमपोखरी पुगेका महतले महायज्ञमा सहभागीता जनाउँदै आफुहरुले सकेको जति सहयोग गर्ने प्रतिवद्धत्ता जनाएका छन् साथै क्याम्पसको अवस्थाका सुधारका लागि सबैलाई सहयोगको लागि अपिल समेत गरेका छन् । महतसँगै पार्टीका केन्द्रीय सदस्य श्याम घिमिरे, पार्टीका सल्लाहकारद्वय उमा दाहाल र रिता खनाल, जिल्ला सदस्य एवं संगठन विभाग सचिव भीमसेन महत, क्षेत्रीय सभापति तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुली, लक्ष्मी थिङ लगायतले महायज्ञमा सहभागीता जनाएका थिए ।

चैत २९ गते बिहीबारसम्म जारी रहने सप्ताह ज्ञान महायज्ञमा चैत २२ गतेबाट प्रत्येक दिन बिहान ७ बजेदेखि १० बजेसम्म पण्डित गुरु तथा बौद्ध गुरुबाट भागवत पुजा अर्चना तथा पाठपरायण भइरहेको क्याम्पस प्रमुख लटौलाले जानकारी दिईन् । सप्ताहमा प्रमुख भागवत वाचक पण्डित सुशिल पौडेल सहित भागवत उपवाचक पण्डित रमेश चालिसेको टोलीले भागवत कथा वाचन गरिरहेका छन् । त्यस्तै दिउँसो १ बजेबाट प्रमुख बौद्ध धर्म गुरु खेन रेन्पुन्छे तथा आचार्य सर्वजीत तामाङ, बौद्ध गुरु ज्ञान बज्र लामा लगायतले बौद्ध ज्ञान वाचन गर्दै आएको ज्ञान महायज्ञ मुल समारोह समितिले जनाएको छ ।

महायज्ञ अन्तर्गत प्रत्येक दिन बिहान ११ बजेदेखि ५ बजेसम्म भागवत कथा प्रवचन, संगीतमय भजन किर्तन र भगवानको झाँकी लिला प्रस्तुत भइरहेको छ । साथै प्रत्येक दिन साँझ साढे ६ बजेदेखि साढे ९ बजेसम्म महात्मीय कथा, भजन किर्तन झाँकी लिला प्रस्तुत गरिँदै आएको छ ।

कार्यक्रम अन्तर्गत नै चैत २८ गते बौद्ध धर्म गुरुहरुबाट विशेष प्रवचन दिईनेछ भने चैत २९ गते प्रवचनका साथै तिलार्चन र दिउँसो समापन कार्यक्रम हुने बताइएको छ ।

वि.सं. २०७१ सालमा सम्बन्धनप्राप्त क्याम्पसमा स्थानीय विद्यार्थीलाई प्रोत्सहान दिँदै वडा नम्बर १२ र १३ का स्थानीय विद्यार्थीहरुका लागि वडा कार्यालयको समन्वयमा निःशुल्क शिक्षाको व्यवस्था समेत मिलाईदै आएको छ । हाल व्यवस्थापन संकाय मात्र पढाई हुने क्याम्पसमा विद्यार्थीलाई अझ पढ्ने वातावरण मिलाउनकालागि र विद्यार्थीको अभाव हुन नदिनका लागि क्याम्पस प्रमुख लटौला सहित क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शंकर रोक्कासहितको टोली वडाका बुद्धिजीवीहरुसँगको छलफलमा प्राप्त सुझावका आधारमा विभिन्न योजनासहित अगाडि बढेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*