हत्कडी लगाएर जेल पठाउने मन्त्री मातृका यादवको चेतावनीपछि किसानको ५ अर्ब तिर्न उद्योगी तयार
काठमाडाैं / उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका यादवले चिनी उद्योगीलाई उखु किसानको बक्यौता नतिरे ठगी मुद्धा चलाउने र हत्कडी लगाएर जेलमा पठाउने चेतावनी दिए लगत्तै उद्योगी बक्यौता तिर्न तयार भएका छन् ।
मन्त्री यादवले शनिबार उखु किसानलाई यो वर्ष भुक्तानी गर्नुपर्ने न्यूनतम समर्थन मूल्यका विषयमा छलफल गर्न बोलाएर उद्योगीलाई किसानको बक्यौता नतिरे हत्कडी लगाउने चेतावनी दिएका थिए ।
लगत्तै आज चिनी उद्योगीहरुले आ–आफ्नो उद्योग रहेको जिल्ला प्रशाशन कार्यालय (सिडिओ) मा किसानलाई भुक्तानी गर्न बाँकी रकम चाँडै तिर्ने प्रतिबद्धता पत्र पठाएका छन् ।
चिनी उद्योग संघका महासचिव राजेश केडियाका अनुसार सबै उद्योगले कुन मितिबाट बक्यौता बुझाउन सुरु गर्ने भन्ने व्यहोराको पत्र सम्बन्धित जिल्ला प्रशाशन कार्यालयमा पठाएका छन् ।
‘अधिकांशले २२ चैतबाट किसानको बक्यौता रकम बुझाउने भनेर सिडिओ कार्यालयमा पत्र पठाएका छौं’ उनले भने, ‘अहिलेसम्म किसानको करिब पाँच अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । बिस्तारै सबै रकम तिरिसक्छौं ।’
शनिबारको छलफलमा उद्योग मन्त्री यादवलाई किसानले लामो समयदेखी उखु बेचेको पैसा उद्योगीबाट नपाएको गुनासो राखेका थिए ।
किसानको कुरा सत्य हो की होइन भनेर उनले चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाललाई सोधका थिए । उनले बक्यौता रकम रहेको र विविध कारणले तिर्न ढिलाई भएको बताएका थिए ।
त्यसपछि आक्रोशित भएका मन्त्रीले आइतबार दिउँसोसम्म बक्यौता रकम बुझाउने प्रतिबद्धता उद्योग रहेको सम्बन्धित जिल्ला प्रशाशन कार्यालयमा नगरे हत्कडी लगाएर जेल पठाउने चेतावनी दिएका थिए ।
