उपसभामुख राधिका तामाङले भनिन् : सत्यको नजिक कोही पनि पुगेनन्
मकवानपुर । प्रदेश नम्बर ३ का उमसभामुख राधिका तामाङले पछिल्ला दिन आफ्नो नाम जोडेर सार्वजनिक समाचारप्रति आपत्ति जनाएकी छिन् । जनप्रतिनिधि भएको नाताले अन्यायमा परेका, बिचौलियाको मारमा परेकालाई सहयोग र समर्थन गर्ने बताउँदै उनले अन्यायमा परेकाहरुको पक्षमा आफू दृढतापूर्वक लाग्ने स्पष्ट गरेकी छिन् ।
बिभिन्न सञ्चारमाद्यममा आफ्नो चरित्र हत्या गर्ने गरी समाचार सार्वजनिक भइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले आफूले बोल्दै नबोलेको कुरालाई अतिरंजित बनाई सार्वजनिक समाचारप्रति ध्यानाकर्षण भएको बताएकी छिन् । यो बोल्नै नहुने भन्ने कुरा त होइन, तर पनि मैले बोल्दै नबोलेको विषयलाई मैले बोलेको हो भनी सत्यसम्म नपुगी, एक पटक मलाई नसोधी सार्वजनिक समाचारप्रति मेरो आपत्ति छ, तामाङले भनिन् ।
केही दिनअघि गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर उपसभामुख तामाङले तामाङ घेदुङ संघका पदाधिकारीसहित समस्याका बारेमा अवगत गराएकी
थिइन् । समस्यामा परेका जुनसुकै समुदाय वा व्यक्तिलाई सहयोग पुर्याउनु, उनीहरुलाई न्याय दिलाउने काममा सहभागी हुनु मेरो काम हो, उनले भनिन् ।
उपसभामुख तामाङको हवाला दिँदै समाचार आउन थालेपछि र विभिन्न समुदायले उनको व्यक्तिगत चरित्रमाथि आँच पुग्ने गरी बोल्न थालेपछि तु खबरले उनीसँग आइतबार बिहान आज प्रतिक्रियाको लागि सम्पर्क गरेको थियो ।
सत्य के हो भन्ने मूल कुरामा कोही पनि नपुगेको उनको प्रतिक्रिया छ । यो समाजका बुद्धिजीवि, पत्रकार, अध्ययनशील व्यक्तित्वको सबै रुप आफूले हेरिरहेको भनी उनले विचौलियाको फन्दामा परेका सामान्य नागरिकको गुनासो माथिल्लो निकायसम्म पुर्याउने काम आफूले गरेको बताएकी छिन् । तामाङ समुदायमात्र होइन, जुनसुकै समुदायका सर्वसाधारणलाई परेको समस्यामा मेरो सहजीकरण रहने छ, उनले भनेकी छिन् ।
यो घटनालाई मैले राजनीतिक प्रतिशोधको रुपमा पनि बुझेकी छु, उनले तु खबरसँग भनिन् । यो देशमा गणतन्त्र आएको अनुभूती हरेकले गर्न पाउनुपर्ने भन्दै अनावश्यक विषयमा सबै कुदेको देखेर छक्क परेको समेत बताइन् । तपाइ पत्रकार हुनुहुन्छ, मेरो विषयमा कुरा आएपछि मलाई सोद्धै नसोधी मनलाग्दी लेख्नु भयो भने त्यसको प्रस्टिकरण तपाइले दिने कि मैले र ?, उनको प्रतिक्रिया छ ।
सबैले आफ्ना धारणाहरु स्वच्छ र सभ्यतापूर्वक राख्न पाउँछन्, अत्यन्त तल्लो स्तरको गालीगलौज गर्ने छुट कसैलाई पनि छैन, उपसभामुख तामाङले भनिन् । सामान्य नागरिकको समस्यामा विचौलियाहरुले लुट्न खोजेको कुरा केन्द्रीय सरकारसम्म जानकारी गराएको उनले बताइन् । बोल्दै नबोलेको कुरालाई मसला बनाएर सारा पछाडि लागेकोमा उनले रोष व्यक्त गरिन् ।
कुराकानीका क्रममा उपसभामुख तामाङले चरित्र हत्या गर्नेहरुको विरुद्ध कानुनी उपचारमा जानेसमेत बताइन् । कि त मैले बोलेको कुरा पुष्टि गर्नुपर्यो, हैन भने अब यो अति भयो, उनको प्रतिक्रिया छ । गणतन्त्रमा सबैको समान अस्थित्व र हैसियत हुने भन्दै उपसभामुख तामाङले सबैको आस्थाप्रति सम्मान रहको पनि स्पष्ट पारेकी छिन् ।
