पदमपोखरी गाई काण्ड : प्रहरी नै ज्यादतीमा उत्रिएको स्थानीयको आरोप

तु खबर संवाददाता
२०७४ चैत्र ७, बुधबार १३:२७

मकवानपुर, ७ चैत । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी रमनटारमा मरेको गाई काटेर खाएको विषयमा प्रहरीले नै ज्यादती गरेको स्थानीयले आरोप लगाएका छन् । प्रहरीहरु आफैले स्थानीयलाई फसाउने खेल खेलिरहेको उनीहरुको आरोप छ ।

मंगलबार सर्जिमिनका लागि पुगेका प्रहरीहरुले सम्बन्धित व्यक्तिहरुको नभई बाटोमा जो भेट्यो त्यसैको हस्ताक्षर लिएर फर्किएको उनीहरुले आरोप लगाएका छन् । ‘२–४ जना प्रहरीहरु आउनुभयो र हामीलाई साईन चाहियो भन्नुभयो’, तर हामीले साईन गरेनौँ ।’ एक स्थानीयले भने, ‘हामीले साईन नगरेपछि वडा नम्बर १३ तिर बाटोमा जो भेट्यो उसैको साईन लिएर प्रहरी फर्केको छ ।’

जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा गाई काटेको अभियोग लागेकाहरुलाई समेत प्रहरीले कार्यालय परिसरमै यातना दिएर मरेको गाईलाई काटेको भन्ने बयानमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको आरोप एक स्थानीयले लगाएका छन् । ‘त्यहाँ हुनुभएका एक असई सापले कार्यालयको माथिल्लो तल्लामा लगेर यातना दिँदै जबरजस्ती गाई काटेको भन्ने बयान दिन लगाएको छ ।’ उनले भने, ‘अभियोग लागेकाले के बयान दिएको छ भन्ने बुझ्न खोज्दा हामीलाई त्यो हस्ताक्षर गरिएको कागज हेर्न दिनुभएन ।’ स्थानीयकै अनुसार गाई काटेको झुठो बयानमा जबरजस्ती हस्ताक्षर गराई वकिलको कार्यालयमा बुझाउन खोजिएको छ ।

तर प्रहरी कार्यालय परिसरमै त्यस्तो यातना दिने काम कुनैपनि हालतमा हुन नसक्ने मकवानपुरका प्रहरी प्रमुख एसपी विकासराज खनालले बताएका छन् । ‘त्यस्तो काम प्रहरीले गर्यो भन्ने मलाई लाग्दैन, तर सर्जिमिनको बारेमा चाहिँ म त्यहाँ खटिएका प्रहरीसँग बुझ्ने छु ।’ उनले भने । घटनाको अनुसन्धान जारी रहेकाले घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक हुने पनि उनले बताए ।

अपडेट : यसैबिच केही समयअगाडि मात्रै एसपी खनालले प्रहरी हिरासतमै यातना दिएको भन्ने कुरा अभियोग लागेकाहरुले नै होईन भन्ने जवाफ दिएको बताएका छन् । ‘मैले उहाँहरुलाई तपाईँहरुलाई कसैले यहाँ कुट्ने, जबरजस्ती हस्ताक्षर गर्न लगाएका छन् भने मलाई भन्नु भनेँ, तर उहाँहरुले त्यस्तो केही नभएको बताउनुभएको छ ।’ उनले भने, ‘उहाँहरुले नै त्यस्तो भन्नुभएकोले मलाई यस्तो घटना यहाँ भएको होईन, बाहिरबाट हल्लामात्र आएको भन्ने लागेको छ ।

अनुसन्धानका क्रममा भएको सर्जिमिनको कार्य अझै पुरा नभएको भन्दै एसपी खनालले सर्जिमिन छिट्टै पुरा गर्ने बताएका छन् ।

गाई काटेर खाएको अभियोगमा स्थानीय कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई प्रहरीले पक्राउ गरेको थियो । घटनामा गाई काटेको नभई मरेको स्थानीयहरुले बताउँदै आएका छन् । उक्त मरेको गाई काटिरहेको अवस्थामा प्रहरी टोली आएपछि डरका कारण अभियोग लागेकाहरु भागेको बताइएको छ ।

मरेको गाईको डाक्टरी रिपोर्टमा घाँटी रेटी हत्या भएको भन्ने रिपोर्ट कुन आधारमा आयो भन्ने बारेमा स्थानीयहरु अनभिज्ञ छन् । उनीहरुले आफ्ना आफन्तहरु निर्दोष भएकोले सबैको अविलम्ब रिहा गर्न माग गर्दै सबै संचारमाध्यमलाई सहयोग गरिदिनका लागि पनि आग्रह गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*