सार्न खोजियो भने जनता चुप बस्दैनन्–बानियाँ
मकवानपुर । प्रदेश नम्बर ३ को ऐतिहासिक प्रथम बैठकमा सांसद ईन्द्रबहादुर बानियाँले हेटौँडा नै ३ नम्बर प्रदेशको राजधानी हुन उपयुक्त भएको बताउँदै यसलाई सार्न कुनै कोशिस नगर्न समेत चेतावनी दिएका थिए । जस अनुसार उनी अहिले हेटौँडालाई नै राजधानी बनाउन कसरी अघि बढ्ने भन्ने योजना बुनेर बसेका छन् ।
प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र लैजान प्रयास नगर्न चेतावनी दिएका उनले जबरजस्ती राजधानी अन्यन्त्र लगेमा आन्दोलन हुने र संघीयतामाथि नै प्रश्न उठ्ने उनको समेत दाबी गर्दै आएका छन् । बानियाँले हेटौँडालालाई ३ नम्बर प्रदेशको राजधानी बनाउन मकवानपुरवासीले नै पहल गर्नुपर्ने बताएका छन् । यस विषयमा सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने उनको धारणा छ ।
हेटौंडालाई प्रदेशको राजधानी बनाउने कुरामा जस्तोसुकै मुल्य चुकाउन पनि मकवानपुरे तयार हुनुपर्ने उनको भनाई छ । हेटौँडा २ पटकसम्म अस्थायी राजधानी भइसकेको बताउँदै उनले यदि पहुँचको आधारमा कसैले स्थायी रुपमा अन्यत्र लाने दुस्प्रयाश गरेमा मकवानपुरे जनताले जस्तोसुकै मुल्य चुकाउन तयार हुनुपर्नेमा आफ्नो अडान कायम राखेका छन् ।
