दुई तिहाई पुग्न दिदैनौँ : मुख्यमन्त्री पौडेल
मकवानपुर । मुख्यमन्त्री र राजधानी मध्ये कुनै एक छोड्नुपर्ने शर्तमा एमालेका नेता तथा केन्द्रबाट नै चेपुवामा परेका प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अन्ततः राजधानीका बारेमा मुख खोले । उनले राजधानी सार्न नदिन एक रणनीति तयार भएको खुलासा गरे ।
पछिल्लो समय मकवानपुरको पर्यटकीय क्षेत्रका रुपमा चर्चा कमाएको कुश्माण्ड सरोबर त्रिबेणीधाममा फागुन १६ गते भएको स्वागत तथा सम्मान कार्यक्रममा उनले रणनीतिका बारेमा खुलाशा गरेका थिए । कुश्माण्ड सरोबर त्रिबेणीधाम विकास समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले हेटौँडाबाट राजधानी सार्नका लागि २ तिहाई सांसदको समर्थन चाहिने भएकोले दुई तिहाइ पु¥याउन नदिन मकवानपुरका सांसदहरु लागि परिरहेको बताए ।
‘राजधानीका बारेमा धेरै टिकाटिप्पणी उठीरहेको छ, तर हामी मकवानपुरका सांसदहरु हेटौँडाबाट राजधानी सार्न नदिने रणनीतिमा लागिसकेका छौँ ।’ उनले भने, ‘राजधानी सार्न दुई तिहाई सांसदको समर्थन चाहिन्छ, तर हामी दुई तिहाई समर्थन पुग्न नदिने रणनीतिमा लागेका छौँ ।’ उनले ३ नंम्बर प्रदेशका जनताले आफूलाई धेरै विश्वास गरेकाले आफ्ना अगाडि गर्नुपर्ने धेरै काम रहेको समेत बताए ।
