३ नम्बर प्रदेश राजधानीको विषयमा तिव्र विवाद

तु खबर संवाददाता
२०७४ चैत्र २, शुक्रबार १२:२४

मकवानपुर, २ चैत । प्रदेश राजधानीका विषयमा कुनै पनि विवाद गर्नुपर्ने जरुरी नदेखिएको दाबी गर्दै केही सांसदहरु चुपचाप बसेपनि प्रदेश नम्बर ३ को राजधानी कहाँ हुन्ने भन्ने विषयमा भित्रै विवाद बढेको छ ।
श्रोतका अनुसार प्रदेसभाले टुङ्ग्याउने विषय भएता पनि राजधानी सार्ने र नसार्नेहरुबिच अहिले जुहारी चलिरहेको छ । ३ नम्बर प्रदेशमा कानुन निर्माणको क्रमलाई बढि प्राथमिकता दिएर अहिले प्रदेश राजधानीको विषय ओझेल परेको जस्तो देखिए पनि भित्रभित्रै राजधानी हेटौँडालाई नै बनाउनुपर्ने पक्षमा रहेका र विपक्षमा रहेकाहरु बिच अहिले तिव्र विवाद आएको छ ।
हेटौँडामा प्रदेश राजधानी राख्न नमिल्ने पक्षमा प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापित मुख्य रुपमा देखिएका छन् । उनलाई एमालेकै अन्य नेताहरुको समेत साथ छ । तर मकवानपुरे जनता र मकवानपुरका वाम गठबन्धनका सांसदहरु भने मकवानपुरबाट राजधानी सार्न नदिने रणनीतिमा लागेका छन् ।
त्यस्तै प्रदेश नम्बर ३ का मुख्य प्रतिपक्षी दलका नेता सांसद ईन्द्रबहादुर बानियाँले सांसदमै राजधानी सार्न चाहानेहरुलाई खुला चुनौति दिँदै कुनै पनि हालतमा मकवानपुरबाट राजधानी सार्न नदिने पक्षमा छन् । राजधानी सार्न नदिने भन्दै उनले संसद र बाहिर हुने विभिन्न कार्यक्रमहरुमा समेत बोल्दै हिँडेका छन् । जबरजस्ती सार्न खोजिएमा त्यसै चुप नबस्ने पनि उनले बताउँदै आएका छन् । यस अर्थमा पनि मकवानपुरको हेटौँडाबाट राजधानी सार्न दिने र नदिनेबिच तिव्र विवाद र असन्तुष्टि बढ्दै गएको देखिएको छ ।

‘प्रदेश राजधानी अन्तै सार्न दवाव दिँदै नागरिक समाज’

प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा अपायक भएको भन्नेमा मकवानपुरका नेताहरु तथा स्थानीयहरु मात्र सकरात्मक भएको जस्तो देखिएको छ । तर सार्ने पक्षमा भने सांसदहरु सहित नागरिक समाज र विभिन्न संघसंस्था समेत देखिएका छन् ।
नेपाल नगरपालिका संघ प्रदेश नंं ३ ले प्रदेश नंं ३ को अस्थायी राजधानी अपायक भएकाले पायकपर्ने ठाउँमा सार्न माग गरिसकेको छ । संघका प्रदेश नं ३ संयोजक भरतबहादुर केसीले फागुन १८ गते विज्ञप्ति जारी गर्दै सबै जिल्लाको समान दूरी र पहँुचको हिसाब हुने ठाउँमा सार्न माग गरेका थिए ।
त्यस्तै नुवाकोट सरोकार समाजले प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउनुपर्नेमा माग गरेको छ । समाजले पत्रकार सम्मेलनको आयोजना गरी मल्लकालमा साततले दरबार मुलुककै राजधानी भएको ऐतिहासिक तथ्यलाई उजागर गर्दै प्रदेश नं ३ को राजाधानी नुवाकोटलाई बनाउनुपर्ने माग गरेको हो ।
समाजका अध्यक्ष रामलाल श्रेष्ठले राजधानी बनाउनका लागि जल, जमिन, वातावरण र भवन पर्याप्त मात्रा भएको र नुवाकोट छहरे–टोखा सुरुङ मार्गकोसमेत सम्भाव्यता अध्ययन भएको अवस्थामा राजधानी बनाउन उपयुक्त हुने बताएका छन् । नुवाकोटबाट निर्वाचित प्रदेशसभा सदस्य केशव पाण्डे, बद्री मैनालीले यसबारेमा पार्टीभित्र बहस भइरहेको र विकल्पका रुपमा काभ्रे वा नुवाकोट राजधानी बनाउनुपर्ने विचार राख्दै तीव्ररुपमा आर्थिक विकास भएको काभ्रेलाई भन्दा नुवाकोटलाई राजधानी बनाउन उपयुक्त हुने सुझाव राखेका छन् ।

‘मुख्यमन्त्रीलाई पार्टीबाटै दबाब ’

मुख्यमन्त्री डोरमणि पौडेल आफ्नै पार्टी नेकपा एमालेका नेता सांसदहरुबाट घेराबन्दीमा परेको अड्कल अधिकांश नेता कार्यकर्ताले गरेका छन् । मुख्यमन्त्रीलाई पार्टीले नै धेरै समय बधाई ग्रहण गर्दै नहिड्न निर्देशन समेत दिएको बुझिएको छ ।
३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौँडालाई बनाइएको कुराले पनि पौडेल चेपुवामा परेका छन् । जनतामाझबाटै मुख्यमन्त्री पदसँग राजधानी साटेको भन्ने आलोचना खेपीरहेका पौडेलले आफुले राजधानीसँग पद नसाटेको भन्दै स्पष्टीकरण दिएपनि त्यसलाई जनताले विश्वास गरेका छैनन् । पछिल्लो चरणमा आएका हल्लाहरुले उनी झन् समस्यामा छन् ।
जानकारहरुका अनुसार मुख्यमन्त्री पौडेललाई पार्टीकै सांसदबाट समस्या हुनसक्ने देखिएको छ । प्रदेश राजधानी हेटौँडालाई मागेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीसँग राजधानी र मुख्यमन्त्री बाहेक कुनै एक छान्न बाध्य पार्ने नेताहरुको भनाई रहेको छ । तर मुख्यमन्त्री पौडेलले फागुन ६ गते एक कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले हेटौँडाबाट कसैले पनि प्रदेश राजधानी सार्न नसक्ने दाबी गरेका थिए ।
हेटौडा उपमहानगरपालिकाको दोस्रो नगर सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले मुख्यमन्त्रीको पदसंग राजधानी सार्न सम्झौता गरेको बाहिरी हल्लाको पछि नलाग्न आग्रह गर्दै हेटौँडा राजधानीको लागि उपयुक्त रहेको र कसैले नि सार्न नसक्ने दाबी गरेका थिए ।
‘हेटौँडालाई स्थायी राजधानी बनाउन प्रधानमन्त्री ओली समेत सकरात्मक’
मकवानपुरको हेटौँडालाई ३ नम्बर प्रदेशको स्थायी राजधानी बनाउन बहस सुरु भएसँगै मकवानपुरका वाम गठबन्धनका नेताहरु समेत सकरात्मक देखिएका छन् । यस क्रममा प्रतिनिधिसभा क्षेत्र नंबर १ का सांसद कृष्णप्रसाद दाहालले पनि यस बारेमा आफु सकरात्मक रहेको बताएका थिए । हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउनको लागि आफु कम्मर कसेर लागेको बताउँदै उनले यसमा एमालेका केन्द्रीय अध्यक्ष तथा प्रधान मन्त्री केपी शर्मा ओली पनि सकरात्मक भएको दाबी गर्दै आएका छन् ।
‘जनदवाव समुह हेटौँडाले गएको माघ १४ गरेको अन्तरिक्रया कार्यक्रममा दाहालले हेटौँडालाई स्थायी राजधानी बनाउने विषयमा आधिकारिक धारणा राखेका थिए । दाहालले एक तिहाई मत मात्र भए राजधानी जोगिने भन्दै उनले यहाँका सबै राजनीतिक दलका नेताहरु र सांसदहरु समेत एक भएर लाग्नुपर्ने बताएका थिए ।

३ नम्बर प्रदेशको नाम र राजधानीबारे जथाभावी नबोलौँ–उपसभामुख तामाङ

प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले प्रदेशको राजधानी र नामबारे कसैले पनि जथाभावी बोल्न नमिल्ने बताउँदै आएकी छिन् । उनले प्रदेशको नाम र राजधानीका विषयमा गम्भिर भएर सोच्नुपर्ने बताएका छन् । ‘ अहिले यतिखेर तपाईको सामु उभिँदा म आफै दुविधामा छु, तर ३ नम्बर प्रदेशको नाम र प्रदेश राजधानीका बारेमा जिम्मेवार भएर लाग्नुपर्छ ।’ उनले भनिन्, ‘जे लाग्यो त्यही गर्नुहुँदैन ।’

नेता, मन्त्री र प्रदेश सभाषदले जथाभावी बोल्न नहुने बताउँदै उनले धेरैले चासो देखाएपनि राजधानी र नामाङ्कनबारे हतारमा बोल्दा गम्भीर परिणाम आउने भएकाले जिम्मेवार हुन आग्रह गरेकि छिन् । तामाङ सञ्चार समुह मकवानपुरको दोश्रो जिल्ला अधिबेशनको क्रममा उनले दीर्घकालिन असर पार्ने भएकाले सचेत हुन नेता, मन्त्रीलाई ध्यानाकर्षण गराईन् । ‘३ नम्बर प्रदेशको स्थायी राजधानी र नामबारे धेरैको कौतुहलता छ, पत्रकारहरुले पनि शुरुमै त्यही प्रश्न गर्छन्’ उनले भनिन् ‘राजनीतिक पार्टी, प्रतिनिधिहरुलाई जिम्मेवार तरिकाबाट यो बिषयमा अगाडी बढ्न आग्रह गर्न चाहन्छु ।’

कार्यपालिकामा प्रतिनिधित्वमा गर्नेहरु जनताको प्रतिनिधी भएकाले कुनै जिल्ला, एउटा समुदाय, एउटा बर्ग, एउटा लिङ्गलाई मात्र समेटेर अभिव्यक्ति दिदाँ त्यसले राम्रो नगर्ने उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*