रसुवा रेडक्रसको जिल्ला अधिवेशन सम्पन्न
रसुवा, २६ फागुन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाको आज सम्पन्न जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
नेपाल रेडक्रस केन्द्रीय सदस्य एवं निर्वाचन अधिकारी विष्णु नेपालका अनुसार रसुवा शाखाको २७औँ जिल्ला अधिवेशनले गोसाइँकुण्ड गापा–६ धुञ्चे गाउँ निवासी बाबुलाल तामाङलाई सर्वसम्मतले सभापति पदमा चयन गरेको हो ।
जिल्ला कार्यसमितिको सदस्यमा सोनामसाङ्बो तामाङ, देवकी रैला, चूडामणि अधिकारी, निलनाथ आचार्य, बलराम घिमिरे लामा, रेञ्जन घले, सेननुर्पु तामाङ, छिरिङग्याम्जो तामाङ, दिनेश तामाङ, नुर्पु तामाङ, भैरवप्रसाद पाण्डे, किप्पा घले रहनुभएको बताइएको छ ।
पदावधि भने चार वर्षको हुने रेडक्रसले जनाएको छ ।
निर्वाचन सम्पन्न भएपश्चात् नवगठित कार्यसमितिले महिलाद्वय पासाङ तामाङ, देकीछोमो तितुङ र कृष्ण देवकोटालाई कार्यसमितिमा मनोनयन गरेको नवनिर्वाचित सभापति बाबुलाल तामाङले जानकारी दिनुभयो ।
तामाङ रसुवामा रेडक्रस स्थापना भएपश्चात् २०४० सालदेखि निरन्तर रुपमा रेडक्रस जिल्ला शाखाको सभापति पद सम्हाल्दै आउनुभएको र ‘जहाँ दुःख त्यहाँ रेडक्रस’ भन्ने पवित्र नारालाई आत्मसात् गर्दै अगाडि बढ्ने सक्षम र इमान्दार व्यक्ति भएको रेडक्रसका केन्द्रीय सदस्य विष्णु नेपालले बताउनुभयो ।
रासस
