स्वस्थ माछामासु व्यवसायका लागि मकवानपुरमा पहल शुरु

तु खबर संवाददाता
२०७४ फाल्गुन १८, शुक्रबार १८:५८
तस्बिर–शिवकुमार रिजाल काशी

मकवानपुर, १८ फागुन । माछामासु व्यवसाय गर्दै आइरहेका व्यवसायीहरुलाई व्यवस्थित बनाउनका लागि मकवानपुरमा पहल शुरु भएको छ । हेटौँडा मासु व्यवसायी संघले आफ्ना सदस्यहरुलाई प्रशिक्षण दिएर स्वस्थ माछामासु व्यवसायका लागि पहल शुरु गरेका हुन् ।

संघले पश्चिम मकवानपुरको मनहरी क्षेत्रमा रहेका व्यवसायीहरुलाई शुक्रबार प्रशिक्षण दिएको छ । व्यवसायको प्रवद्र्धन तथा बैधानिकताबारे जिल्ला पशु सेवा कार्यालय, मकवानपुर उद्योग बाणिज्य संघ, मनहरी गाउँपालिका प्रमुख लगायतलाई बोलाएर प्रशिक्षणात्मक कार्यक्रम आयोजना गरिएको हो ।

मासु पसलको व्यवस्थापन, स्वस्थ मासु सेवन तथा बिक्रीका सम्बन्धमा जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डाक्टर रामप्रकाश खनालले प्रशिक्षण दिएका थिए । त्यसैगरी व्यवसाय दर्ता तथा अन्य बैधानिक विधिका बारेमा मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपभोक्ता अधिकारका सम्बन्धमा उपभोक्ता हीत संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बासु खतिवडाले व्यवसायीहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले अबको केही समयपछि माछामासु व्यवसायीहरुको नियमन् गरिने भन्दै त्यसअघि नै आफ्ना व्यवसायलाई व्यवस्थित पार्न अनुरोध गरेका छन् । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गोविन्द रिजालले व्यवसायीहरु एकत्रित हुनु राम्रो पक्ष भएको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*