मुख्यमन्त्री पौडेलद्वारा धरान–चतरा सडकको निरिक्षण
मकवानपुर, १६ फागुन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज धरान–चतरा सडक आयोजनाको निरिक्षण गरेका छन् । मकवानपुरको बकैया गाउँपालिकामा आजदेखि शुरु हुने बकैया महोत्सवको लागि सो क्षेत्रमा पुगेका मुख्यमन्त्री पौडेलसहितको टोलीले आयोजनाको निरिक्षण गरेकाहुन् ।
उनले हेटौँडा–धरान–चतरा सडकको हेटौंडा–राईगाउँ खण्डको निरिक्षण गरेका हुन् । मुख्यमन्त्री पौडेलसँगै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल, प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, आयोजनाका प्रतिनिधि लगायतको टोलीपनि निरिक्षणमा सहभागी भएका छन् ।
हेटौंडादेखि सिन्धुलीमाडि हुँदै कटारी, गाईघाट, धरान चतरासम्मको ३ सय १८ किलोमिटर सडकको कामले तिव्रता पाएको हो । यो सडकको ट्रयाक खोलेर पक्की बनाउने काम भइरहेको छ । तीन वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने उद्देश्यले शुरु गरिएको आयोजना अन्तर्गत ३३ वटा पुलसमेत निर्माण भइसकेका छन् । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रुपमा सरकारले सात वर्षअघि यो सडक निर्माणको काम थालेको हो ।
