आर्थिक विकासका लागि सहकारीको प्रतिबद्धता
रत्ननगर, चितवन, १५ फागुन । विभिन्न सहकारीमा आबद्ध जिल्लाका सहकारीकर्मीले आर्थिक विकासका लागि सहकारी महत्वपूर्ण माध्यम भएको भन्दै १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
सहकारीको माध्यमबाट आर्थिक विकासका लागि प्रतिबद्धता तयार पारी सार्वजनिक गरिएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी सञ्चालक शान्ति अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सहकारी ऐन, नियम र मापदण्ड ल्याउने, ऐन संशोधनका लागि केन्द्र र प्रदेश तथा सहकारी विकास बोर्ड र सहकारी महासंघलाई ध्यानाकर्षण गराउने, सहकारीसम्बन्धी नीति, कानूनी व्यवस्था र कार्यक्रम वनाउन सहकारी अभियानसँग परामर्श गर्नेलगायत प्रतिबद्धता सार्वजनिक गरिएको हो ।
जिल्लाका सबै स्थानीय तहमा सहकारी प्रवद्र्धनका लागि प्रभावकारी शाखा स्थापना गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्ने तथा स्थानीय तहले वार्षिक बजेट तथा कार्यक्रममा सहकारीको विकास, सहकारी शिक्षा, क्षमता विकास, प्रवद्र्धनजस्ता क्षेत्रमा पर्याप्त बजेट विनियोजन गराउन पहल गर्ने प्रतिबद्धतामा उल्लेख छ ।
प्रदेश तथा स्थानीय तहले सहकारीको संख्यात्मक वृद्धिभन्दा गुणात्मक विकासलाई प्राथमिकता दिने, तुलनात्मक लाभका क्षेत्रमा सहकारी व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, सहकारी व्यवसाय स्थापना गर्न प्रोत्साहन गर्ने र ठूला लगानीका सहकारी उद्योग व्यवसाय स्थापना गर्ने गरी साझा कार्यक्रम वनाउने प्रतिबद्धतामा समावेश गरिएको छ ।
यस्तै, आवश्यकता र सम्भाव्यताका आधारमा स्थानीय तहमा साझा सहकारी उद्योग व्यवसाय स्थापना गर्न स्थानीय निकाय तथा सहकारी अभियानबीच सहकार्य गर्ने, वित्तीय कारोबारका मापदण्डको पालना गराउने, सहकारीबीच मर्जर तथा वित्तीय सेवामाथिको पहुँचलाई विशेष प्राथमिकता दिने तथा सहकारी प्रशिक्षण र डिभिजन कार्यालयलाई प्रदेशस्तरीय प्रशिक्षण केन्द्रमा रुपान्तरण गर्नेगरी प्रतिबद्धता सार्वजनिक गरिएको छ ।
हालैमात्र चितवनमा सहकारीको नीति निर्माण र प्रवद्र्धनमा संघ, प्रदेश र स्थानीय सरकारको भूमिकाका विषयमा अन्तक्र्रिया गरिएको थियो । सोही गोष्ठीको आधारमा प्रतिबद्धता सार्वजनिक गरिएको हो । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तेजेन्द्र खड्काले सहकारीको सञ्चालन, व्यवस्थापन र कानून निर्माणका विषयमा पुनःसंरचना गर्नुपर्नेमा जोड दिनुभयो ।
सहकारीका पूर्व रजिष्टार सुदर्शन ढकालले अन्तर्राष्ट्रिय क्षेत्रमा सहकारीले महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै सहकारीले अस्पताल, विद्यालय, रेष्टुरेन्ट र यातायातका क्षेत्रमा समेत काम गरेर सर्वसुलभ सेवा दिनुपर्नेमा जोड दिनुभयो ।
चितवनमा हाल कूल ६८७ सहकारीमध्ये रु पाँच हरोडभन्दा बढी कारोबार गर्ने सहकारी ६२ वटा रहेका छन् ।
विपन्नका लागि अक्षयकोष
चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न दुर्घटनामा परी पीडित भएका तथा विपन्नको शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा सहयोग गर्नेगरी अक्षयकोष स्थापना गरेको छ ।
कोषमा रु एक करोड रकम जम्मा गर्ने लक्ष्यसहित शुरु भएको उक्त अभियानमा आजसम्म रु १० लाख संकलन भएको समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यही फागुन १४ गते समितिको एक भेलाले कोष स्थापना गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै एकैदिन रु १० लाख ३७ हजार जम्मा भएको उहाँले बताउनुभयो । जिल्लाबाट वैदेशिक रोजगारमा गएका र रोजगारबाट फर्किएकाहरु संगठित भई चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल गठन भएको हो ।
समितिले विपन्न समुदाय, विभिन्न घटनाका पीडित, विभिन्न आश्रम तथा विदेशमा गएर समस्यामा परेका पीडितको उद्धार, सहयोग, उपचार तथा तिनका परिवारलाई राहत प्रदान गर्दै आएको छ । वार्षिक रु ४० लाखदेखि रु ५० लाखसम्म सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको समितिले अब आफ्नै अक्षयकोषबाट सहयोग गर्ने जनाएको छ ।
हालै अक्षयकोषमा सागर नेपाल, सोम सापकोटा र अरुण श्रेष्ठबाट रु एक लाख एक हजार १११ का दरले सहयोग प्राप्त भएको छ । समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारी, बुद्धिराज अर्याल, मनोज अर्याल, कविता ढकाल, रामबाबु थापा, गणेश ढकाल, सीता ढकाल, प्रभु रानाभाट, राजन श्रेष्ठ, दीपक गौतम र अञ्जु सुवेदीले रु ५१ हजार १११ का दरले सहयोग गर्नुभएको छ । अन्य व्यक्तिले रु पाँच हजारदेखि रु २५ हजारसम्म सहयोग प्राप्त भएको समितिले जनाएको छ । रासस
