सवारी दर्ता र नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालय जानु नपर्ने
सवारी साधनको दर्ता तथा नामसारी प्रक्रियालाई सहज र सेवाग्राहीमैत्री बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता, नामसारी, बीमा तथा बीमा नवीकरणसम्बन्धी काम गर्न सकिनेछ।
संशोधित व्यवस्थाले सवारी साधन खरिदबिक्री तथा त्यससँग सम्बन्धित प्रशासनिक प्रक्रियामा सेवाग्राहीले भोग्दै आएका झन्झट कम गर्ने अपेक्षा गरिएको छ।
नयाँ व्यवस्थाअनुसार डिलरबाट गरिएको सवारी साधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ। यससँगै डिलरबाट जाँच भइसकेका सवारी साधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन।
त्यस्तै, सवारी खरिदकर्ताले वारेसनामा दिएर तोकेको व्यक्तिमार्फत दर्ता तथा नामसारीको काम गर्न सकिने व्यवस्था गरिएको छ। यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो तथा खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ।
संशोधित व्यवस्थाले सवारी साधनको बीमा तथा बीमा नवीकरण प्रक्रियालाई समेत सहज बनाएको छ। अब यी कामका लागि सवारी धनी स्वयं उपस्थित हुनुपर्ने छैन।
