तीन सातादेखि लाइसेन्स सेवा ठप्प, सरकार भने मुकदर्शक
सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सेवा देशभर करिब तीन सातादेखि प्रभावित बनेको छ। यातायात व्यवस्था विभागले साउन १ गतेदेखि लागू गरेको नयाँ ‘इडीएलभिआरएस’ प्रणालीमा प्राविधिक समस्या देखिएपछि नयाँ आवेदनदेखि नवीकरण, वर्ग थप, राजस्व भुक्तानी र परीक्षासम्बन्धी अधिकांश सेवा अवरुद्ध रहेको हो ।
हाल यातायात कार्यालयहरूले यसअघि नै छापिएका लाइसेन्स वितरण गर्ने काम भने निरन्तर गरिरहेका छन्। त्यसबाहेकका सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन्। बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले साउन ११ गते अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका सेवा स्थगित गर्ने निर्णय सार्वजनिक गरिसकेको छ। मन्त्रालयले यसअघि पनि साउन ८ गते यस्तै सूचना जारी गरेको थियो।
मन्त्रालयका अनुसार यातायातसँग सम्बन्धित विभिन्न प्रणालीलाई थप व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले नयाँ प्रणाली सञ्चालनमा ल्याइएको भए पनि डाटा स्थानान्तरण र प्राविधिक तयारीका काम पूरा हुन समय लागेकाले सेवा नियमित गर्न कठिन भएको हो। समस्या समाधान भएलगत्तै सेवा पुनः सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ।
यो समस्या बागमती प्रदेशमा मात्र सीमित छैन। नयाँ प्रणाली देशभर लागू गरिएकाले सातै प्रदेशका यातायात कार्यालयमा समान अवस्था देखिएको छ। विभागले पुरानो प्रणाली बन्द गरेर नयाँ सर्भरमार्फत सेवा सञ्चालन गर्न निर्देशन दिएपछि प्राविधिक जटिलता बढेको कर्मचारीहरू बताउँछन्।
नयाँ प्रणालीमार्फत लाइसेन्ससम्बन्धी धेरै काम अनलाइनबाटै गर्ने योजना बनाइएको थियो। आवेदन दर्ता, नवीकरण, राजस्व भुक्तानी, बायोमेट्रिक विवरण, स्वास्थ्य परीक्षण लगायतका प्रक्रिया डिजिटल माध्यमबाट सम्पन्न हुने व्यवस्था गरिएको थियो भने लिखित परीक्षा, ट्रायल र लाइसेन्स प्राप्तिका लागि मात्र कार्यालय पुग्नुपर्ने अवधारणा राखिएको थियो। तर पर्याप्त परीक्षणबिनै प्रणाली लागू हुँदा अपेक्षाभन्दा बढी त्रुटि देखिएको कर्मचारीहरूको भनाइ छ।
