अमेरिका नेपालको बाढी प्रतिकार्यमा सबैभन्दा ठूलो दाता बनेकोमा गर्व छ: मोरिसन

गिरिजा अधिकारी, न्युयोर्क
२०८३ आश्विन १०, शनिबार १७:५२
दक्षिण तथा मध्य एसिया मामिला हेर्ने ब्युरोकी उपसहायक विदेशमन्त्री बेथानी मोरिसन । तस्बिरः गिरिजा अधिकारी / तु खबर

अमेरिकी उपसहायक विदेशमन्त्री बेथानी मोरिसनले नेपालमा बाढी प्रतिकार्य तथा पुनस्थापनाका लागि अमेरिकी सहायता ३ करोड ६० लाख डलर पुगेको र अमेरिका अहिले उक्त प्रतिकार्यको सबैभन्दा ठूलो दाता बनेकोमा गर्व महसुस गरेको बताएकी छिन्। प्रभावकारी प्रतिकार्यसहित ३ करोड ६० लाख डलर सहयोग पुर्‍याउन सकिएको र यसले आफूलाई गर्व लागेको उनको भनाइ छ।

विसं २०८३ भदौ १० गते (सन् २०२६ अगस्ट २६ गते) आएको रसुवा भोटेकोशी विनाशकारी बाढीपछि अमेरिकी सरकारले तत्काल आवश्यक राहत सहयोगको घोषणा गरेको थियो। त्यसपछि क्रमिक रूपमा खाद्यान्न तथा अन्य प्राविधिक सहयोग जारी राखेको अमेरिकी सरकारले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका दौरान अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिला उपविदेशमन्त्री एलिसन हुकरमार्फत बाढी पुनस्थापनाका लागि ३ करोड १० लाख डलरभन्दा बढी थप अमेरिकी सहायता उपलब्ध गराउने योजना घोषणा गरेकी थिइन्।

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसितको भेटमा हुकरले घोषणा गरेको सो सहयोग बाढीबाट क्षतिग्रस्त भएका पुलहरूको निर्माण, मानवीय सहायता र अमेरिकामा निर्मित विपद् पुनस्थापना सामग्री उपलब्ध गराउने विषयमा केन्द्रित थियो।

नेपालमा भएको सो विकासको खबर प्राप्त हुनासाथ अमेरिकाले प्रभावकारी सहायता परिचालन गर्न सक्षम भएको मोरिसनले बताएकी छिन्। “हाम्रो प्रतिकार्य तीव्र थियो। यो प्रभावकारी थियो,” मोरिसनले भनिन्। युएसएआईडीलाई विदेश मन्त्रालयमा पुनर्समायोजन गरिएपछि यसले अमेरिकाको कामको गतिलाई घटाएको भन्ने सुनिए पनि अमेरिकाको काम अझ छरितो भएको मोरिसनको भनाइ छ। “हामी अझ प्रभावकारी भएका छौँ। हामी स्रोतसाधन छिटो परिचालन गर्न सक्षम भएका छौँ। नेपालमा हामीले ठ्याक्कै त्यही देख्यौँ,” उनले भनिन्।

अमेरिकाले एसियाली क्षेत्रका मुलुकहरू श्रीलंका, बंगलादेश र मालदिभ्ससँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सकारात्मक गतिमा अगाडि बढाइरहेको छ। मोरिसनले हालैको एक प्रेस ब्रिफिङमा समुद्री सुरक्षा र महत्त्वपूर्ण पूर्वाधारको क्षेत्रमा श्रीलंकासँगको सम्बन्ध अत्यन्त सकारात्मक गतिमा अगाडि बढेको पनि जानकारी दिएकी छिन्। विशेष गरी इरानसँगको हालैको सङ्कटको समयमा हिन्द महासागरमा श्रीलंकाले एक महत्त्वपूर्ण र अभिन्न भूमिका खेलेको मोरिसनले बताइन्।

बंगलादेशसँग पनि यस हप्ता उच्चस्तरीय भेटघाटहरू भएको, विदेशमन्त्रीले राष्ट्रपति ट्रम्पसँग समय बिताएको र बोइङ कम्पनीसँगको ठूलो व्यावसायिक सम्झौतामा हस्ताक्षर भएको बताइएको छ। अमेरिका र बंगलादेशबीच नागरिक आणविक समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी पनि भइरहेको मोरिसनको भनाइ छ। रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको मालदिभ्ससँगको साझेदारीलाई सुधार गर्न अमेरिका उत्सुक देखिएको छ।