अनलाइन व्यापार गर्ने सबै व्यवसायी अनिवार्य दर्ता हुनुपर्ने
काठमाडौं । सरकारले डिजिटल माध्यमबाट व्यापार–व्यवसाय सञ्चालन गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन निर्देशन दिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल, मार्केटप्लेस तथा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन ताकेता गरेको हो।
विभागका अनुसार विद्युतीय व्यापार ऐन, २०८१ तथा विद्युतीय व्यापार निर्देशिका, २०८२ बमोजिम आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मात्र अनलाइन व्यापार सञ्चालन गर्नुपर्नेछ। कम्प्युटर, मोबाइल वा अन्य विद्युतीय उपकरणमार्फत वेबसाइट, एप्लिकेसन, इन्टरनेट, इन्ट्रानेट तथा सामाजिक सञ्जालको मार्केटप्लेसबाट कारोबार गर्ने सबै व्यवसायी यस व्यवस्थाको दायरामा पर्ने विभागले जनाएको छ।
अनलाइन कारोबारमा उपभोक्ता ठगी तथा गुनासो बढ्दै गएपछि सरकारले डिजिटल व्यापारलाई थप पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन नियमन कडा बनाएको हो।
विभागले कानुनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गर्ने व्यवसायीमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।
