यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णय
नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ८ वटा निर्णयहरू गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले विभिन्न मन्त्रालयको प्रस्तावमा यी निर्णयहरु गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्ताव अनुसार बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ भने लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत ९ऋभ्इ० पदमा काठमाडौँका याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ।
प्रशासनिक संरचनालाई छरितो र प्रभावकारी बनाउने उद्देश्यले मन्त्रिपरिषद्ले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ खारेज गर्दै उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति प्रदान गरेको छ। त्यसैगरी, पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय पनि बैठकले गरेको छ।
सामाजिक तथा शैक्षिक क्षेत्रतर्फ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति दिइएको छ। यस्तै, विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा पर्वतका प्रा. डा. खड्क बहादुर केसी र सचिव पदमा भोजपुरका प्रा. डा. रोजेश श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको छ।
साथै, सरकारले सुनसरी र सिरहा जिल्लामा भएका हालैका प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिहरूका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय समेत गरेको छ।
