अमेरिकाको भिसाका लागि ३० लाख रुपैयाँसम्म धरौटी अनिवार्य
अमेरिकी सरकारले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक तथा व्यावसायिक भिसा आवेदनमा धरौटी (भिसा बन्ड) अनिवार्य गर्ने नयाँ व्यवस्था लागू गरेको छ। अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड’ कार्यक्रमलाई स्थायी बनाउँदै धरौटी रकम अधिकतम २० हजार अमेरिकी डलरसम्म निर्धारण गरेको हो। यो रकम नेपाली मुद्रामा करिब ३० लाख रुपैयाँभन्दा बढी हुन आउँछ।
नयाँ व्यवस्था विशेषगरी बी–१ (व्यावसायिक) र बी–२ (पर्यटक) भिसामा अमेरिका जान चाहने नेपाली नागरिकका हकमा लागू हुनेछ। नियमअनुसार भिसा आवेदकले न्यूनतम १० हजार अमेरिकी डलरदेखि अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ। उक्त रकम भिसा अन्तर्वार्ताअघि नै बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा आवेदन अस्वीकृत भएमा वा भिसा स्वीकृत भएर अमेरिका पुगेपछि सबै सर्त पालना गर्दै तोकिएको अवधिभित्र स्वदेश फर्किएमा धरौटी रकम फिर्ता गरिनेछ। तर भिसाको अवधि सकिएपछि पनि अमेरिकामै गैरकानुनी रूपमा बसेमा भने धरौटी रकम जफत हुनेछ।
अमेरिकी सरकारले भिसाको अवधि नाघेर बस्ने (ओभरस्टे) विदेशी नागरिकको संख्या घटाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको जनाएको छ। ट्रम्प प्रशासनका बेला परीक्षणका रूपमा सुरु गरिएको ‘भिसा बन्ड’ कार्यक्रम प्रभावकारी देखिएपछि यसलाई स्थायी रूपमा कार्यान्वयनमा ल्याइएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
यो व्यवस्थाबाट नेपालसँगै बंगलादेश, भुटानलगायत ५० देशका नागरिक प्रभावित हुनेछन्। अमेरिकी विदेश मन्त्रालयले आवश्यकता अनुसार भविष्यमा अन्य देशलाई पनि यो सूचीमा समावेश गर्न सकिने जनाएको छ।
