सरकारद्वारा डा. गोविन्द केसीसँग वार्ताका लागि उच्चस्तरीय टोली धनगढीमा
काठमाडौँ । सत्याग्रहमा रहेका डा. गोविन्द केसीसँग वार्ता गरी अनशनको सहमतिपूर्ण निकास निकाल्न सरकारले उच्चस्तरीय पहल अघि बढाएको छ। वार्ता प्रक्रियालाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा आइतबार धनगढी पुगेका छन्।
उनीहरू बुद्ध एयरको विमानमार्फत धनगढी पुगेका हुन्। यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार नै धनगढी पुगिसकेका थिए। शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा वार्ताको वातावरण बनाउन उनलाई धनगढी पठाइएको जनाइएको छ।
शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए। त्यसपछि संवादमार्फत समस्या समाधान गर्ने उद्देश्यले सरकारले उच्चस्तरीय टोली परिचालन गरेको हो।
धनगढी पुगेको सरकारी टोलीले आइतबार नै डा. केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ। सरकारले संवादमार्फत सहमति जुटाई जारी सत्याग्रहको निकास निकाल्ने प्रयास भइरहेको जनाएको छ।
यसैबीच, स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि चिकित्सकको सल्लाहअनुसार डा. केसीलाई शनिबारदेखि सेती प्रादेशिक अस्पतालमा राखेर निरन्तर स्वास्थ्य निगरानी र उपचार गरिँदै आएको छ।
