संघीय मामिलामन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नेपालका लागि चीनका राजदूत झाङ माओमिङसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो । विशेषगरी चीनको स्वशासित क्षेत्र सिजाङ सरकारको सहयोगमा सञ्चालित प्रोजेक्ट एड टु नेपाल, सिभिल अस्पतालको स्तरोन्नति, अस्पतालमा क्यान्सर उपचारका लागि कार–टी सेल ल्याबोरेटरी स्थापना तथा भूमि प्रशासनको डिजिटलीकरण लगायतका द्विपक्षीय सहयोगका विषयमा विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ ।
भेटका क्रममा राजदूत झाङ माओमिङले मन्त्रालयले सरकार गठनपछिका पहिलो १०० दिनमा हासिल गरेको कार्यप्रगतिप्रति प्रशंसा व्यक्त गर्दै सेवा प्रवाहमा सुधार, भूमि प्रशासनको डिजिटलीकरण र सुशासन प्रवद्र्धनका क्षेत्रमा अघि बढाइएका पहलहरू प्रभावकारी रहेको उल्लेख गरेका थिए ।
सरकार गठनपछि पहिलो १०० दिनका कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेकी मन्त्री रावलले नेपालका लागि चीनका राजदूत झाङ माओमिङसँग पहिलो पटक शिष्टाचार भेटवार्ता गरेकी हुन् ।
