प्रधानमन्त्रीले आज निर्यात उद्यमीसँग छलफल गर्ने

तु खबर संवाददाता
२०८३ श्रावण ८, शुक्रबार १०:३६

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज देशका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग प्रधानमन्त्रीले छलफल गर्ने भएका छन् । केही दिनदेखि अर्थतन्त्रको विकास र समृद्धिका लागि भन्दै फरक फरक उद्योगी व्यवसायीहरुसँग सरकारको नेतृत्व गरिरहेका बालेन शाह आफै प्रत्यक्ष सहभागी भएर छलफल गर्दै आएका छन् । बालेनले छलफल चलाएसँगै अर्थतन्त्रमा केही उत्साह देखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ११ः३० बजे नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक संघका अध्यक्ष रेशमबहादुर पोखरेलसँग छलफल हुनेछ ।

आजको छलफलमा व्यवसायीहरुले निर्यातमा देखिएको समस्याबारे प्रष्ट कुरा राख्नेछन् भने प्रधानमन्त्रीले समाधानको उपाय अघि सार्ने विश्वास गरिएको छ । आजको छलफल कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा मन्त्रालयका कुनै पनि प्रतिनिधि सहभागी हुने छैनन् ।