वायुसेवा निगममा नयाँ कार्यकारी अध्यक्ष नियुक्त

तु खबर संवाददाता
२०८३ असार ३१, बुधबार ०७:१९

मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले देशको कृषि, सुरक्षा, खेलकुद, उड्डयन र गृह प्रशासनसँग सम्बन्धित विभिन्न पाँचवटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैठकका निर्णयहरूबारे जानकारी दिँदै शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले चालेका नयाँ कदमहरूबारे प्रस्ट पारेका हुन् ।

नेपाल वायुसेवा निगमको रिक्त सञ्चालक समिति अध्यक्ष पदमा महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गरिएको छ, जसलाई महाप्रबन्धकको समेत काम गर्ने गरी कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पिएको छ।

बैठकले कृषि मन्त्रालयको प्रस्ताव बमोजिम ‘बिउ विजन (पहिलो संशोधन) नियमावली २०८१’ लाई स्वीकृत गर्ने निर्णय गरेको छ। यसैगरी, विपद्को समयमा नागरिकको जिउधन रक्षाका लागि अहोरात्र कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूको मनोबल उच्च राख्न विपद् खोज तथा उद्धार कार्यमा खटिने टोलीलाई विशेष प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।

खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको मनोबल बढाउन अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गरी देशको गौरव बढाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कारका साथै सम्मान पत्र प्रदान गर्ने निर्णय समेत सरकारले गरेको छ।

लामो समयदेखि आन्दोलित मिटरब्याज ९अनुचित लेनदेन० पीडितहरूको समस्यालाई सम्बोधन गर्न मन्त्रिपरिषद्ले यसअघि गठित विभिन्न आयोगहरूले बुझाएका प्रतिवेदनहरूलाई तत्काल कार्यान्वयनमा लैजाने गरी गृह मन्त्रालयलाई विशेष जिम्मेवारी सुम्पिने निर्णय गरेको छ।