नक्कली भुटानी शरणार्थी काण्डमा रायमाझी र खाँड दोषी ठहर

तु खबर संवाददाता
२०८३ असार २४, बुधबार ०८:१५
फाइल फोटोः रायमाझीको फेसबुक पेज

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी काण्डमा छानविनमा परेका पूर्व मन्त्रीहरु बालकृष्ण खाँड र टोप बहादुर रायमाझीलाई दोषी ठहर गरेको छ ।
आज जिल्ला अदालतमा भएको सुनुवाईपछि न्यायाधीश तेज बहादुर खड्काको इजलासले यस्तो फैसला सुनाएको हो ।

फैसला अनुसार टोप बहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलाई भने सफाई दिइएको छ । सफाइ पाउनेहरुमा टंक कुमार गुरुङ, रामशरण केसी, लक्ष्मी महर्जन र केशव तुलाधर लगायतका छन् ।

अदालतले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पनि दोषी ठहर गरेको छ । त्यसैगरी, गृहमन्त्रालयका कर्मचारी टेक नारायण पाण्डे, बिचौलिया सानु पाण्डेलाई पनि दोषी ठहर गरेको छ । त्यस्तै, सन्देश शर्मा, गोबिन्द चौधरी, सागर राई, सम्शेर मिया, आङ्टावा शेर्पा, डा. इन्द्रजित राई, नरेन्द्र केसी र हरिभक्त महर्जनलाई पनि दोषी ठहर गरेको छ ।

२०७६ सालमा सुरु भएको नक्कली भुटानीशरणार्थी काण्डमा नेपालको झापामा बसोबास गर्दै आएका भुटानी शरणार्थीहरुलाई स्वच्छिक रुपमा अमेरिका तथा युरोपमा पुनर्बास गराउने क्रममा छुटेको भन्दै करिब ८०० जना नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचय पत्र बनाएर अमेरिका पुर्याइएको थियो ।

सो काण्ड २०८० साल जेठ १० गते तत्कालिन प्रधानमन्त्री प्रचण्डको पालामा नारायणकाजी श्रेष्ठले छानविन गरी पहिलो पटक जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको आज अन्तिम फैसला भएको हो ।