कम्बोडियाबाट तत्काल नेपाल फर्किन नेपालीहरूलाई राजदूतावासको आग्रह

तु खबर संवाददाता
२०८३ जेष्ठ २५, सोमबार ०८:०९

थाइल्यान्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा गैरकानुनी तरिकाले बस्दै आएका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ। राजदूतावासले एक विज्ञप्ति जारी गर्दै भिसा अवधि समाप्त भएपछि नवीकरण नगरी कम्बोडियामा बस्दै आएका ६६ जना नेपालीलाई नेपाल फर्किन भनेको हो।

भ्रमण लगायतका विभिन्न उद्देश्यले कम्बोडिया पुगेर भिसा अवधि सकिएपछि पनि त्यहीँ बसेपछि राजदूतावासले यस्तो आग्रह गरेको हो।

विभिन्न तरिकाले ती नेपालीहरूलाई सम्पर्क गरी नेपाल फर्किन आग्रह गरिएकोमा त्यसतर्फ कुनै चासो नदेखाएकाले राजदूतावासले सूचना जारी गरेको जनाएको छ। समयभित्रै नेपाल नफर्किए कम्बोडिया सरकारले पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गर्ने र आजीवन कारावाससम्मको कारबाही हुने भएकाले तत्काल नेपाल फर्किन राजदूतावासले आग्रह गरेको छ।

कम्बोडियामा रहेका नेपालीहरूलाई तत्काल नेपाल फर्किन र उनीहरूका परिवारलाई समेत आफन्तहरूलाई नेपाल फर्काउन आवश्यक पहल गर्न दूतावासले आग्रह गरेको छ।