खुम्बु आइसफलमा बेपत्ता गाइड दावा शेर्पा ६ दिनपछि जीवित फेला

तु खबर संवाददाता
२०८३ जेष्ठ २१, बिहीबार १२:१७

काठमाडौं । सगरमाथा क्षेत्रको खुम्बु आइसफलमा ६ दिनदेखि बेपत्ता भएका ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा जीवित अवस्थामा फेला परेका छन् । उनलाई आज बिहान खोजी टोलीले आधार शिविरतर्फ घस्रिँदै आइरहेको अवस्थामा भेटेको हो ।

उनी एक पर्यटन कम्पनीमा आबद्ध रहेका थिए । खोजीमा संलग्न टोलीका अनुसार उनी हिउँमा घिस्रिँदै तलतर्फ आउँदै गर्दा फेला परेका थिए ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का कामदारहरूले उनलाई आइसफल क्षेत्र नजिकै देखेर उद्धार गरेका हुन् । प्रारम्भिक अवस्थामा उनको हात र खुट्टामा चिसोका कारण घाउ देखिएको छ । उनलाई तत्काल खाना र प्राथमिक उपचार दिइएको छ ।

हाल उनको अवस्था स्थिर रहेको र हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ । उद्धारपछि थप उपचार काठमाडौंमा गरिने जनाइएको छ ।

उनी एक साताअघि तेस्रो शिविर क्षेत्रबाट आधार शिविर फर्किने क्रममा सम्पर्कविहीन भएका थिए । सुरुमा हेलिकोप्टरसहित व्यापक खोजी गर्दा पनि भेटिन सकेका थिएनन् । एक सातापछि जीवितै फेला पर्नुलाई पर्वतारोहण क्षेत्रमा “चमत्कार” का रूपमा लिइएको छ ।