प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको अवरोध

तु खबर संवाददाता
२०८३ जेष्ठ १८, सोमबार १७:५२

प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्दावित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका हुन् ।

विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू उठेर विरोध गरेका हुन् । प्रधानमन्त्री बालेन शाहले आइतबार नेपालले पनि भारतका सिमा मेचेको अभिव्यक्ति दिएपछि यसको चौतर्फी विरोध भइरहेको छ ।

प्रतिनिधिसभामा आएर बोल्न नखोजेका प्रधानमन्त्री शाहले आइतबार अचानक सभामुखसँग समय मागेर बोलेका थिए । त्यतिबेला उनले नेपालको हीत प्रतिकुल हुने गरी अभिव्यक्ति दिएपछि यसको सबैतिर विरोध भइरहेको छ ।

भारतले नेपालका सिमानाहरु मिचेर जंगे पिलर समेत सार्दै आएकोमा नेपालमा दशकौंदेखि त्यसको विरोध भइरहेको छ । लिपुलेक र कालापानी समेत कब्जा गरेर बसेको भारतसँग ती भूमिका समस्या समाधान गर्न वार्ता गर्न नेपालका जनस्तरबाट सरकारको विरुद्ध दबाब दिइँदै आएकोमा अचानक प्रधानमन्त्रीले नेपाल हीत विपरित अभिव्यक्ति दिएपछि विवाद झनै चर्केको हो । यसैबीच, विभिन्न राजनीतिक दल र समाजका अगुवाहरुबाट प्रधानमन्त्री शाहको राजिनामा समेत माग भइरहेको छ ।