नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध अख्तियारको मुद्दा

तु खबर संवाददाता
२०८३ जेष्ठ ११, सोमबार १६:२२

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षण पेशामा संलग्न भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर खन्नाहाले झुट्टा शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षक पदमा नियुक्ति लिई सेवा सुविधा लिएको पाइएको भन्दै आयोगले सोमबार आरोपपत्र दायर गरेको हो।

खन्नाहाले श्री भवानी माध्यमिक विद्यालय, नवलपरासीमा २०५९ मङ्सिर १ गतेदेखि अस्थायी र २०७५ चैत २९ गतेदेखि सोही विद्यालयमा प्राथमिक तहको स्थायी शिक्षकका रूपमा कार्यरत रहेको अनुसन्धानमा देखिएको छ।

अनुसन्धानका क्रममा उनले भारतको ‘नागाल्याण्ड बोर्ड अफ स्कूल एजुकेशन, कोहिमा’ बाट जारी भएको भनिएको नक्कली प्रवेश पत्र, लब्धाङ्क पत्र तथा माइग्रेसन सर्टिफिकेट पेस गरेको पाइएको अख्तियारले जनाएको छ। हाल उनी विनयी त्रिवेणीस्थित मणिसंगम माध्यमिक विद्यालयमा प्राथमिक तह तृतीय श्रेणीको शिक्षकका रूपमा कार्यरत रहेका थिए।

नक्कली शैक्षिक योग्यताका आधारमा पद, लाभ तथा सुविधा प्राप्त गरी भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय मागदाबी गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन्।