पश्चिम एसियामा नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा रहेका नेपालीहरुको हित र सुरक्षाप्रति सरकार सजग रहेको बताएको छ ।
मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पश्चिम एसियामा कायम रहेको तनाबका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र हितप्रति नेपाल सरकार सजग रहेको बताएका हुन् । त्यहाँ तनाव कायम रहेपनि सार्थक वार्ताको सम्भावना बलियो रहेको र मे महिनायता परिस्थिति क्रमशः सुधारोन्मुख रहेको पनि उनले बताए ।
नेपालले ‘स्ट्रेट अफ होर्मुज’ खुलाउन भइरहेका द्विपक्षीय तथा बहुपक्षीय प्रयासहरूको नेपाल सरकारले समर्थन गर्ने पनि उनले बताए । चाँडै अवरोध खुल्ने र त्यसबाट प्रभावित आपूर्ति श्रृखला विस्तारै समान्य हुने अपेक्षा नेपाल सरकारको रहेको पनि उनले जानकारी दिए ।
हाल पश्चिम एसियामा रहेका नेपालीहरुको अवस्था समान्य रहेको क्षेत्रीले सो अवसरमा बताए ।
नेपाल सरकारले स्थापना गरेको ‘इमर्जेन्सी कन्ट्रोल रूम’, कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणाली तथा सम्बन्धित नेपाली नियोगका हटलाइन सेवा हालसम्म पनि सञ्चालनमा रहेको उनले बताए ।
मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् नेपाली नागरिकहरुलाई कुनै समस्या परेमा तत्काल सम्पर्कमा आउन पुनः आग्रह गरेको छ ।
