नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वः वैद्य र प्रधान विजयी

तु खबर संवाददाता
२०८३ जेष्ठ ८, शुक्रबार १६:३७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिले पूर्णता पाएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदमा वैद्यले ५६ मत प्राप्त गर्दै विजय हासिल गरे । उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत प्राप्त गरेका थिए ।

त्यस्तै, कोषाध्यक्ष पदमा मनिषलाल प्रधान ६१ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी अम्बिकाप्रसाद पौडेलले १६ मत प्राप्त गरे ।

महासंघमा दुई पदका लागि भएको निर्वाचन शुक्रबार सम्पन्न भएको थियो । वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र रामचन्द्र संघईबीच प्रतिस्पर्धा भएको थियो भने कोषाध्यक्षमा मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेल चुनावी मैदानमा उत्रिएका थिए ।

निर्वाचित दुवै पदाधिकारी अध्यक्ष अञ्जन श्रेष्ठ समूहका उम्मेदवार हुन् ।