क्यानाडा सरकारद्वारा टोरन्टोका १० व्यवसायलाई सहयोग गर्न ९० लाख डलर लगानीको घोषणा

तु खबर संवाददाता
२०८३ जेष्ठ ८, शुक्रबार ००:५४
लगानी घोषणा गर्दै श्रम राज्यमन्त्री तथा संघीय सांसद जोन जेरुसेली । तस्बिर : गिरिजा अधिकारी, टोरन्टो ।

टोरन्टो, ओन्टारियो । क्यानाडा सरकारले ग्रेटर टोरन्टो क्षेत्रका व्यवसायहरूलाई बजारमा प्रतिस्पर्धा गर्न, आधुनिकीकरण गर्न र उत्पादकत्व बढाउनका लागि ९० लाख डलर लगानी घोषणा गरेको छ ।

फेडरल इकोनोमिक डेभलपमेन्ट एजेन्सी फर साउदर्न ओन्टारियोमार्फत व्यापार अवरोध तथा भन्सार शुल्क (ट्यारिफ) बाट प्रभावित भएका १० वटा स्थानीय व्यवसायहरूलाई सुदृढ बनाउन करिब ९० लाख डलर लगानी गरिने भएको छ ।  संसद सदस्य तथा श्रम राज्यमन्त्री जोन जेरुसेलीले एटोबिकोमा अवस्थित स्पेसफाइल कम्पनीको भ्रमण गर्दैै यस्तो घोषणा गरेका हुन् ।

सरकारले एयूजी सिग्नल, एकोर्न बायोल्याब्स, क्यान्डर इन्डस्ट्रिज, चार्जल्याब, एटोबिकोक आइरनवर्क्स, एमटेक, सोमरभिल मर्चेन्डाइजिङ, स्पेसफाइल, ट्रिनिटी टेक र भी.सी. अल्टिमेट गरी दश वटा कम्पनीहरुलाई सहयोग घोषणा गरेको हो ।

टोरन्टो क्षेत्रका व्यवसायहरूलाई सहयोग गर्न र यी उत्पादनहरुले विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सकून् भन्ने सुनिश्चित गर्नका लागि लगानी घोषणा गरिएको श्रम राज्यमन्त्री एवम् संसद जोन जेरुसेलीले बनाए । त्यसैगरी, स्पेसफाइलका अध्यक्ष जोन हार्कनेसले यस अनिश्चित समयमा सरकारको सहयोगको प्रशंसा गर्दै नयाँ उपकरणहरुले बजारमा कम्पनकिो प्रतिस्पर्धात्मक क्षमता बढाउने बताए ।