फेरि पठायो सरकारले राष्ट्रपतिसमक्ष सम्पत्ति शुद्धीकरण संशोधनसहित अर्को अध्यादेश
बालेन्द्र शाह नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाएको छ। उक्त अध्यादेश जारी गर्नका लागि रामचन्द्र पौडेल समक्ष सिफारिस गरिएको हो।
सरकारले अध्यादेशमार्फत कानुनी संशोधनलाई तीव्रता दिने क्रममा यो अध्यादेश राष्ट्रपति कार्यालय पठाएको आठौँ प्रस्ताव हो। राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रितेशकुमार शाक्यका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश दर्ता भइसकेको छ।
उनका अनुसार हालसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ८ वटा अध्यादेश सिफारिस भएर राष्ट्रपति कार्यालय पुगेका छन्। तीमध्ये २ वटा अध्यादेश भने जारी भइसकेका छन् भने बाँकी ६ वटा अध्ययनको क्रममा रहेका छन्।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरिसकेका छन्। सरकारले आवश्यक कानुनी संशोधनलाई शीघ्र कार्यान्वयनमा ल्याउन अध्यादेशमार्फत प्रक्रिया अघि बढाइरहेको छ।
